BIZMANDU
www.bizmandu.com

इप्पान स्थानीयलाई आइपीओ प्रिमियम मूल्यमा बेच्न नहुने पक्षमा, अध्यक्ष डाँगीले दिए यस्तो चेतावनी

२०८३ साउन १७

इप्पान स्थानीयलाई आइपीओ प्रिमियम मूल्यमा बेच्न नहुने पक्षमा, अध्यक्ष डाँगीले दिए यस्तो चेतावनी
इप्पान स्थानीयलाई आइपीओ प्रिमियम मूल्यमा बेच्न नहुने पक्षमा, अध्यक्ष डाँगीले दिए यस्तो चेतावनी


काठमाडौं। केही जलविद्युत कम्पनीले स्थानीय बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल चलाएकामा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आपत्ति जनाएको छ।

Vigo
GBIME
Tata

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले स्थानीयवासीलाई आरक्षित सेयर प्रिमियम मूल्यमा बेचे त्यसले समस्या निम्तिने चेतावनी दिएका छन्।

उनले आइतबार प्रेस विज्ञप्ति जारी गरी ‘केही जलविद्युत कम्पनीले स्थानीय बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको’ बताएका छन् ।

‘जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयबासीलाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता १०० रुपैयाँमै उपलब्ध गराइनुपर्छ भन्ने धारणा इप्पानको छ,’ उनले विज्ञप्तिमा भनेका छन्।

अध्यक्ष डाँगीले आयोजनामा स्थानीय समुदायको स्वामित्वका लागि उनीहरुलाई १० प्रतिशत सेयर आरक्षित गरिएको भन्दै प्रिमियम मूल्यमा बेचे आयोजना र स्थानीयबीचको सम्बन्ध बिग्रिने चेतावनी दिएका छन्।

‘आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने, निर्माण अवधिका असुविधा व्यहोर्ने र आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई आयोजनाको स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयबासीका लागि सेयरको व्यवस्था गरिएको हो। त्यही सेयर प्रिमियम मूल्यमा निष्कासन गरियो भने स्थानीय समुदायको पहुँच सीमित हुने, उनीहरूमा अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबीच वर्षौंदेखि निर्माण हुँदै आएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने इप्पानको ठहर छ,’ डाँगीले भनेका छन्।