BIZMANDU
www.bizmandu.com

बजारबाट सयभन्दा बढी नक्कली उत्पादन नियन्त्रणमा, तीव्र पारियो अनुगमन

२०८३ साउन १७

बजारबाट सयभन्दा बढी नक्कली उत्पादन नियन्त्रणमा, तीव्र पारियो अनुगमन
बजारबाट सयभन्दा बढी नक्कली उत्पादन नियन्त्रणमा, तीव्र पारियो अनुगमन


काठमाडौं। बजारमा नक्कली उत्पादनको बिक्री वितरण बढिरहेको गुनासो आएपछि सरकारले अनुगमनमा कडाइ गर्न थालेको छ।

Tata
GBIME

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नक्कली उत्पादनको बिक्री वितरण रोक्न वाणिज्य विभागलाई प्रभावकारी रूपमा बजार अनुगमन गर्न निर्देशन दिएकी छन्।

मन्त्रालयका अनुसार विभागले हाल बजार अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनका क्रममा करिब एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिइएको छ।

हाल ती उत्पादनको गुणस्तर र मौलिकता पुष्टि गर्न प्रयोगशालामा परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ।

उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नक्कली उत्पादनप्रति कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने मन्त्रीको भनाइ छ। बजारमा गुणस्तरहीन र नक्कली सामान बिक्री गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कारबाही गरिने उनले स्पष्ट पारिन्।

बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने सरकारको प्रतिबद्धता पनि उनले दोहोर्‍याइन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतिराम सापकोटाले बजारमा अझै पनि केही नक्कली उत्पादन बिक्री भइरहेको सूचना प्राप्त भइरहेकाले विभाग नियमित अनुगमनमा सक्रिय रहेको बताए।

उनका अनुसार नियन्त्रणमा लिइएका सबै शंकास्पद उत्पादनको प्रयोगशाला परीक्षण भइरहेको छ। परीक्षण प्रतिवेदन प्राप्त भएपछि सम्बन्धित उत्पादन र व्यवसायीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

विभागले उपभोक्तालाई पनि सचेत रहन आग्रह गरेको छ। शंकास्पद वा नक्कली उत्पादन भेटिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन विभागले अनुरोध गरेको छ।

सरकार, व्यवसायी र उपभोक्ताको साझा प्रयासबाट मात्रै बजारमा नक्कली उत्पादनको कारोबार नियन्त्रण गर्न सकिने विभागको विश्वास छ।