काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट काम गर्ने तथा धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड प्रदान गरेको छ। कम्पनीले शुक्रबार होटेल याक एण्ड यतीमा आयोजित आइएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइटमा अभिकर्ताहरूलाई सम्मान गरेको हो।
उत्कृष्ट अभिकर्ताहरूलाई आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष डा रामहरि अर्याल तथा निर्देशकहरू विनोद केसी, उषा ढकाल, सुनील कुमार पोखरेल, सन्दीप अग्रवाल लगायतले अवार्ड वितरण गरेका थिए।
उत्कृष्ट काम गर्ने अभिकर्ताहरूको उच्च सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूको आयोजना नियमित रुपमा गर्ने बताएको छ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कम्पनीले गरेको उल्लेख्य प्रगतिमा अभिकर्ताको मेहेनत र प्रविधिको प्रयोग मुख्य रहेको बताए। अभिकर्ताको मेहेनतलाई साथ दिन कम्पनीलाई आगामी दिनहरूमा उच्चतम प्रविधिको प्रयोग गर्ने दायित्व रहेको उनले बताए।
आइएमई ग्रुपका प्रबन्ध निर्देशक ढकालले पछिल्ला ८ वर्षको अवधिमा कम्पनीले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आइएमई लाइफले पहल गर्दै फड्को मारिरहेको बताए।
कम्पनीका संचालक समितिका अध्यक्ष डा अर्यालले यस पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनु पर्ने र त्यसका लागि स्व-अध्ययनका साथै कम्पनीले उनीहरूको व्यावसायिक क्षमता वृद्धिका लागि थप तालिमहरूको आयोजना गरी सहयोग गरिरहने बताए।
यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरूको मूख्य भूमिका रहेकोमा दुईमत नरहेको बताए। उनले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ-नयाँ योजनहरू प्रस्तुत गरेको, कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै आएको र आगामी दिनमा कम्पनीका डिजिटल सेवा प्रवाहलाई थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए।