काठमाडौं। निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ नेपाली बजारमा आउने भएको छ। निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले उक्त गाडी भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गर्ने जनाएको हो।
नेपालका लागि सवारी मेला नाइमा मोबिलिटी एक्स्पो यसपटक साउन २७ देखि भदौ १ गतेसम्म हुँदैछ। गत जुलाई ९ मा विश्व बजारमा सार्वजनिक गरिएको टेकटन निसानको एसयूभी लाइनअपमा थपिएको नयाँ मोडल हो।
कम्पनीका अनुसार प्रतिष्ठित ‘निसान पेट्रोल’बाट प्रेरित यो एसयूभी निसानको ७५ वर्ष लामो एसयूभी विरासतलाई आधुनिक डिजाइन, प्रविधि र कार्यक्षमतासँग जोडेर विकास गरिएको हो। टेकटनमा १.० लिटर टर्बो पेट्रोल इन्जिनसहित ६-स्पिड म्यानुअल ट्रान्समिसन तथा १.३ लिटर टर्बो जीडीआई इन्जिनसहित ६-स्पिड डुअल–क्लच ट्रान्समिसन (डीसीटी) विकल्प उपलब्ध छन्।
यसले अधिकतम १६३ पीएस शक्ति र २८० न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। शक्तिशाली प्रदर्शनसँगै दैनिक प्रयोगमा इन्धन दक्षता पनि कायम रहने दाबी गरिएको छ।
गाडीमा टेक-लिंक एचडी इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, प्रिमियम इन्टेरियर, रियर-भ्यु क्यामेरा, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक तथा विभिन्न आधुनिक सुविधाहरू समावेश गरिएको छ।
सुरक्षातर्फ टेकटनमा ६ वटा एयरब्याग, उच्च मजबुतीको स्टिल बडी, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरा प्रणालीजस्ता ड्राइभिङ सहयोगी प्रणाली छन्।
बोल्ड डिजाइन, मांसल बाहिरी बनावट, ‘सी’ आकारका एलईडी बत्ती, फराकिलो केबिन र ठूलो बुट क्षमतासहित टेकटनलाई सहरदेखि लामो दूरीका यात्रासम्म सहज बनाउने गरी तयार गरिएको कम्पनीले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पो अवधिभर निसान स्टलमा आउने आगन्तुकले टेकटनलाई प्रत्यक्ष अवलोकन गर्न, यसको प्रविधि र विशेषताबारे जानकारी लिन तथा कम्पनीका विज्ञसँग कुराकानी गर्न सक्नेछन्।