BIZMANDU
www.bizmandu.com

ब्रड पिकमा निम्स पुर्जासहित १० आरोहीको निधन भएको पुष्टि, शोकमा विश्व पर्वतारोहण समाज

२०८३ साउन १६

ब्रड पिकमा निम्स पुर्जासहित १० आरोहीको निधन भएको पुष्टि, शोकमा विश्व पर्वतारोहण समाज
Photo: AFP/Nirmal ‘Nims’ Purja


काठमाडौं। विश्वप्रसिद्ध नेपाली मूलका बेलायती पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ। लामो खोजी अभियानपछि उनको कम्पनी एलिट एक्सपेडले शनिबार आधिकारिक रूपमा उनको मृत्यु पुष्टि गर्दै अन्य टोली सदस्यहरू पनि जीवित नरहेको जनाएको छ।

Tata
GBIME

४३ वर्षीय पुर्जा जुलाई ३० मा ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परेका थिए। करिब ८ हजार ४७ मिटर अग्लो उक्त हिमालको क्याम्प-२ माथिको क्षेत्रमा बिहान करिब ९ बजे आएको हिमपहिरोले १० सदस्यीय टोलीलाई बगाएको थियो।

जीपीएस डेटाले पुर्जा केही मिनेटमै करिब ९ सय मिटर तल झरेको देखाएको थियो। त्यसपछि टोलीसँग सम्पर्क विच्छेद भएको थियो। जीपीएसबाट आएको कमजोर संकेतले पनि उद्धारमा ठोस सहयोग गर्न सकेन।

पाकिस्तानको अल्पाइन क्लब, पाकिस्तानी सेनाको हेलिकोप्टर र नेपाली पर्वतारोही मिङ्मा ग्याल्जे शेर्पाको नेतृत्वमा खोजी अभियान संचालन गरिएको थियो। प्रतिकूल मौसम र थप हिमपहिरोको जोखिमका कारण उद्धार कार्य निकै कठिन बनेको थियो।

उद्धार टोलीले घटनास्थलबाट ९ जनाको शव फेला पारेको जनाएको छ। दुर्घटनामा ओमानकी पहिलो महिला सगरमाथा आरोही नाधिरा अल हार्थी, अमेरिकी आरोही मलोरी गाइस, नेपाली गाइड पुरबहादुर ‘युक्त’ गुरुङ, पाकिस्तानी गाइड सोहेल साखी, चिनियाँ आरोही वाङ झोङ तथा नेपाली उच्च हिमाली सहयोगी किल्ली पेम्बा शेर्पा, निमा शेर्पा, नावा थिन्दु शेर्पा र ग्यालु शेर्पाको पनि मृत्यु भएको पुष्टि गरिएको छ।

यस घटनापछि नजिकैको केटु हिमालका सबै आरोहण अभियान तत्कालका लागि रद्द गरिएको छ। पर्वतारोहण इतिहासमा यो काराकोरम क्षेत्रमा सन् २००८ को केटु दुर्घटनापछिको सबैभन्दा ठूलो सामूहिक मानवीय क्षति मानिएको छ।

म्याग्दीमा जन्मिएका पुर्जा १८ वर्षको उमेरमा बेलायती गोर्खा सेनामा प्रवेश गरेका थिए। पछि उनी बेलायती जलसेनाको विशेष फौज स्पेसल बोट सर्भिसमा आबद्ध भएका थिए भने त्यसपछि विश्व पर्वतारोहणमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका थिए।

सन् २०१९ मा उनले १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल केवल १८९ दिनमै आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। यही यात्रालाई आधार बनाएर बनेको नेटफ्लिक्सको ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्रीले उनलाई विश्वभर थप चर्चित बनाएको थियो।

सन् २०२१ मा उनले अन्य नेपाली आरोहीसँग मिलेर पहिलो पटक हिउँदमा केटु हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। सन् २०२४ मा उनले अतिरिक्त अक्सिजनविना सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गर्ने कीर्तिमान पनि कायम गरेका थिए।

ब्रड पिक आरोहणअघि उनले सामाजिक सञ्जालमा सुरक्षित रूपमा माथि पुगेर फर्किन मात्र कामना गरेको सन्देश लेखेका थिए। उनले कुनै पनि हिमाललाई कहिल्यै हल्का रूपमा नलिने भन्दै प्रत्येक आरोहणमा शतप्रतिशत समर्पण दिने उल्लेख गरेका थिए।

उनको कम्पनी एलिट एक्सपेडले उनको निधनले विश्व पर्वतारोहण समुदायले एक असाधारण आरोही, दूरदर्शी नेता र लाखौँ मानिसलाई प्रेरणा दिने व्यक्तित्व गुमाएको जनाएको छ। कम्पनीले उनका सहयात्री पुरबहादुर गुरुङ र निमा शेर्पाप्रति पनि श्रद्धाञ्जली अर्पण गर्दै सबै शोकाकुल परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ।

पर्वतारोहणमा कीर्तिमान मात्र नभई साहसी उद्धार अभियान, नेपाली पर्वतारोहणको अन्तर्राष्ट्रिय पहिचान र नयाँ पुस्तालाई ठूलो सपना देख्न प्रेरित गर्ने योगदानका कारण निम्स पुर्जाको नाम सधैं सम्झिइने विश्वास गरिएको छ। उनको निधनसँगै आधुनिक पर्वतारोहण इतिहासको एक प्रेरणादायी अध्याय अन्त्य भएको भन्दै विश्वभरबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ।

प्रधानमन्त्री बालेन शाह, नेपाली कांग्रेसका सभापति गगन थापा लगायतले पनि उनको निधनप्रति शोक व्यक्त गरेका छन्।