BIZMANDU
www.bizmandu.com

अमेरिकामा महँगियो घरजग्गा कर्जा, खरिदकर्तामाथि थप आर्थिक भारसँगै कारोबारमा मन्दी

२०८३ साउन १६

अमेरिकामा महँगियो घरजग्गा कर्जा, खरिदकर्तामाथि थप आर्थिक भारसँगै कारोबारमा मन्दी
अमेरिकामा महँगियो घरजग्गा कर्जा, खरिदकर्तामाथि थप आर्थिक भारसँगै कारोबारमा मन्दी


वाशिङ्टन। अमेरिकामा दीर्घकालीन घरजग्गा कर्जा (मोर्टगेज) को ब्याजदर लगातार चौथो सातासम्म बढ्दै एक वर्षयताकै उच्च स्तरमा पुगेको छ। यसले महँगो कर्जाका कारण घर खरिद गर्न पर्खिरहेका सम्भावित खरिदकर्तालाई थप निराश बनाएको छ।

Tata
GBIME

मोर्टगेज खरिदकर्ता संस्था फ्रेडी म्याकका अनुसार ३० वर्षे स्थिर ब्याजदरको औसत मोर्टगेज दर अघिल्लो साताको ६.५८ प्रतिशतबाट बढेर ६.६६ प्रतिशत पुगेको छ। एक वर्षअघि यही अवधिमा यो दर ६.७२ प्रतिशत थियो।

मोर्टगेज दर बढ्दा ऋणीको मासिक किस्ता सयौं डलरसम्म बढ्न सक्छ। यसले घर खरिद गर्ने क्षमता घटाउनुका साथै धेरैलाई अहिल्यै किनिहालौँ भन्ने निर्णयबाट पछि सर्न बाध्य बनाएको छ। यही कारण यस वर्ष अमेरिकामा घर बिक्रीको कारोबार सुस्त बनेको विश्लेषण भइरहेको छ।

अमेरिकामा अधिकांश परिवार घर खरिदका लागि दीर्घकालीन मोर्टगेज कर्जामै निर्भर हुन्छन्। त्यसैले ब्याजदरमा हुने सामान्य वृद्धि पनि मासिक किस्ता उल्लेख्य बढ्ने, घर खरिद गर्ने क्षमता घट्ने र आवास बजारको कारोबार सुस्ताउने प्रमुख कारण बन्ने गर्छ।

घर पुनर्कर्जा (रिफाइनान्सिङ) गर्न प्रयोग हुने १५ वर्षे स्थिर ब्याजदर पनि बढेको छ। यस्तो कर्जाको औसत ब्याजदर ५.९६ प्रतिशतबाट बढेर ६.०४ प्रतिशत पुगेको छ। गत वर्ष यही समयमा यो ५.८५ प्रतिशत थियो।

मोर्टगेज ब्याजदर अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को मौद्रिक नीतिदेखि अर्थतन्त्र र मुद्रास्फीतिप्रतिको लगानीकर्ताको अपेक्षासम्मका विभिन्न पक्षबाट प्रभावित हुन्छ। विशेषगरी १० वर्षे अमेरिकी ट्रेजरी ऋणपत्रको प्रतिफललाई आधार मानेर बैंकहरूले गृहकर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन्।

यस वर्ष इरान युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि मुद्रास्फीति अझ चर्किने अपेक्षा बलियो बनेको छ। त्यसको प्रभाव दीर्घकालीन सरकारी ऋणपत्रको प्रतिफलमा परेको छ। फेब्रुअरीको अन्त्यमा युद्ध सुरु हुनुअघि १० वर्षे ट्रेजरी प्रतिफल ३.९७ प्रतिशत रहेकोमा बिहीबार मध्याह्नसम्म ४.६६ प्रतिशत पुगेको थियो। यही कारण मोर्टगेज ब्याजदर पनि लगातार उकालो लागेको हो।

हालको ६.६६ प्रतिशत ब्याजदर जुलाई ३१, २०२५ यताकै उच्च हो। त्यसबेला ३० वर्षे मोर्टगेजको औसत दर ६.७२ प्रतिशत थियो। यसै वर्ष फेब्रुअरीको अन्त्यतिर भने यो दर ६ प्रतिशतभन्दा तल झरेको थियो, जुन सन् २०२२ पछिकै पहिलो घटना थियो।

मोर्टगेज दर बढेको एक दिनअघि मात्रै फेडरल रिजर्भले आफ्नो प्रमुख नीतिगत ब्याजदर यथावत् राखेको थियो। पाँच वर्षभन्दा बढी समयदेखि २ प्रतिशतको लक्ष्यभन्दा माथि रहेको मुद्रास्फीतिलाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौतीबीच फेडले ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो।

यसपटकको दुईदिने मौद्रिक नीति बैठकमा फेडका तीन क्षेत्रीय बैंकका अध्यक्षले मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने पक्षमा फरक मत राखेका थिए। यसले फेडका सदस्यबीच अब ब्याजदर घटाउनेभन्दा बढाउने सम्भावना बढी देखिएको संकेत गरेको अर्थशास्त्रीहरूको भनाइ छ।

रियाल्टर डटकमका वरिष्ठ अर्थशास्त्री एन्थोनी स्मिथका अनुसार फेडको पछिल्लो संकेतले निकट भविष्यमा घरकर्जाको दर घट्ने सम्भावना कमजोर देखिएको छ। उनका अनुसार इरानसँगको तनाव कम भई हर्मुज स्ट्रेट पुनः सहज रूपमा सञ्चालन हुन सके तेलको मूल्य घट्ने र त्यससँगै ब्याजदरमा पनि राहत आउन सक्ने सम्भावना छ।

यद्यपि फेडले प्रत्यक्ष रूपमा मोर्टगेज दर निर्धारण गर्दैन। तर, उसले छोटो अवधिको नीतिगत ब्याजदरमा गर्ने परिवर्तनले ऋणपत्र बजारमार्फत दीर्घकालीन ब्याजदरमा प्रभाव पार्ने भएकाले त्यसको असर अन्ततः घरकर्जामा पनि देखिने गर्छ।

यद्यपि हालको मोर्टगेज दर गत वर्षको तुलनामा केही कम भए पनि यस वर्ष लगातार बढ्दो क्रममा रहेकाले अमेरिकी घरजग्गा बजारमा दबाब कायम छ। जनवरीदेखि जुनसम्म पुराना घरको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.७ प्रतिशतले बढे पनि वार्षिक बिक्री दर करिब ४० लाख घरमै सीमित छ, जुन ऐतिहासिक औसत ५२ लाख घरभन्दा निकै कम हो।

सन् २०२२ देखि सुरु भएको अमेरिकी आवास बजारको मन्दी अझै अन्त्य भएको छैन। महामारीपछिको न्यून ब्याजदर समाप्त भएसँगै मोर्टगेज महँगिँदा गत वर्ष घर बिक्री ३० वर्षयताकै न्यून स्तरमा पुगेको थियो।

यसैबीच, मोर्टगेज बैंकर्स एसोसिएसनका अनुसार घर खरिद तथा पुनर्कर्जासम्बन्धी नयाँ कर्जा आवेदन गत साताको तुलनामा ६.४ प्रतिशतले घटेको छ।

एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत बब ब्रोक्समिटले आर्थिक सूचकहरूले आगामी ब्याजदरको दिशा तय गरे पनि अहिलेको उच्च कर्जा लागतले विशेषगरी यो गर्मीयाममा घर किन्न चाहने धेरै अमेरिकीलाई चुनौती थपेको बताएका छन्। (एपी)