काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आफू नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
तराई–मधेशमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे मधेश केन्द्रित दलका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनले प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने बताएका हुन्।
संविधान जारीपछि सङ्घीयताको अभ्यास निरन्तर भइरहेको उल्लेख गर्दै उनले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार लिन र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गर्न सक्षम बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको पनि शाहले बताए।
सरकारले प्रस्तुत गरेको बजेट पूर्ण रूपमा समावेशी र देशका सबै भौगोलिक क्षेत्र, समुदाय तथा वर्गको हितलाई समेट्ने उद्देश्य राखेको उनले बताए।
बैठकमा सहभागी नेताहरूले तराई मधेश क्षेत्रका विविध समसामयिक समस्या, सुरक्षा चुनौती, सुशासनको प्रत्याभूति र सङ्घीयताको मजबुतीबारे सुझाव प्रस्तुत गरेका थिए।