काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सुनसरी घटनालाई लिएर तराई क्षेत्रमा तनाव बढेपछि सद्भाव कायम राख्न अपिल गरेको छ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी संयम, आपसी सद्भाव र सामाजिक एकता कायम राख्न अपिल गरेका हुन्।
उनले तोडफोड लगायत गतिविधि कसैको हितमा नरहेको भन्दै संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
‘सामाजिक अशान्ति, हिंसा, तोडफोड, बन्द, अवरोध तथा असुरक्षाको वातावरणले आयोजना निर्माणमा प्रत्यक्ष असर पार्नुका साथै लगानीकर्ताको मनोबल कमजोर बनाउने, उत्पादन लागत वृद्धि गराउने, निर्माण अवधि लम्ब्याउने र समग्र आर्थिक गतिविधिलाई प्रभावित गर्ने अवस्था सिर्जना हुन्छ। यसबाट स्थानीय समुदाय, उद्योग व्यवसाय, श्रमिक तथा समग्र राष्ट्रिय अर्थतन्त्र नै प्रभावित हुने भएकाले शान्ति र सामाजिक सद्भावको संरक्षण सबै पक्षको साझा दायित्व हो,’ डाँगीले विज्ञप्तिमा भनेका छन्, ‘सामाजिक, धार्मिक तथा सामुदायिक सद्भाव अभिवृद्धि गर्न नागरिक समाज, निजी क्षेत्र, स्थानीय समुदाय, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूबीच सहकार्य, संवाद र सकारात्मक जनचेतनामूलक गतिविधि सञ्चालन गरी राष्ट्रिय एकता र विकासको साझा अभियानलाई सशक्त बनाउन पनि इप्पान सबैमा हार्दिक आह्वान गर्दछ।’
