BIZMANDU
www.bizmandu.com

ब्रोड पिकमा बेपत्ता ‘निम्स दाइ’सहित १० आरोहीको खोजी हुँदै, पाकिस्तानमा उद्धार अभियान जारी

२०८३ साउन १५

ब्रोड पिकमा बेपत्ता ‘निम्स दाइ’सहित १० आरोहीको खोजी हुँदै, पाकिस्तानमा उद्धार अभियान जारी
ब्रोड पिकमा बेपत्ता ‘निम्स दाइ’सहित १० आरोहीको खोजी हुँदै, पाकिस्तानमा उद्धार अभियान जारी


पाकिस्तान-चीन सीमामा अवस्थित ब्रोड पिकमा गएको हिमपहिरोपछि बेपत्ता भएका निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको खोजी तथा उद्धार अभियान जारी छ।

Tata
GBIME

प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित भए पनि मौसम अनुकूल हुनेबित्तिकै खोजी थप तीव्र बनाइने जनाइएको छ। ब्रोड पिक काराकोरम पर्वत शृंखलामा रहेको विश्वको १२औँ अग्लो हिमाल हो।

पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अर्शद खानले सामाजिक संजाल इन्स्टाग्राममार्फत स्थलमार्गबाट खटिएका उद्धार टोलीले चार जनाको शव फेला पारेको जानकारी दिएका छन्। यद्यपि, यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन।

पाकिस्तानका लागि नेपाली राजदूत रीता धितालले घटनास्थलमा शव फेला परेको खबर आएको स्वीकार गरेकी थिइन्। तर, त्यसको आधिकारिक पुष्टि आफूले नपाएको बताएकी थिइन्।

स्थानीय अधिकारीका अनुसार ३ वटा जीपीएस ट्र्याकिङ उपकरण करिब ६ हजारदेखि ७ हजार मिटरको उचाइमा भेटिएका छन्। उच्च हिमाल आरोहणका क्रममा अधिकांश आरोहीले यस्ता ट्र्याकिङ उपकरण बोकेका हुन्छन्।

नेपाल सरकारले सन् २०२४ देखि सगरमाथा आरोहीका लागि यस्ता उपकरण अनिवार्य गरेको छ।

हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली मूलका आरोही निम्स दाइसहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोली बेपत्ता भएको आशंका गरिएको छ। टोलीसँग बिहीबार दिउँसो हिमपहिरो गएको समयदेखि कुनै सम्पर्क हुन सकेको छैन।

पाकिस्तान सेनाले उद्धारका लागि दुई हेलिकप्टर परिचालन गरेको छ। हेलिकप्टरमा उद्धारकर्मी र विशेष उपकरण पठाइएको अल्पाइन क्लबले जनाएको छ।

नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाकिस्तानको अल्पाइन क्लबसँग समन्वय गर्दै उद्धार अभियानलाई सहयोग गरिरहेको जनाएको छ। संघका महासचिव राजेन्द्रबहादुर लामाका अनुसार के-टु क्षेत्रमा रहेका नेपाली शेर्पा उद्धारमा सहभागी हुन ब्रोड पिकतर्फ गएका छन्।

हेलिकप्टरबाट केही आरोही देखिएको सूचना आए पनि त्यसको पुष्टि हुन बाँकी रहेको उनले बताए।

बेपत्ता टोलीमा नेपालका तीन कम्पनी एलिट एक्सपेड, सेभेन समिट ट्रेक्स र इम्याजिन नेपालसँग आबद्ध गाइड र विदेशी आरोही छन्। टोलीमा नेपालका ६, पाकिस्तानका एक, अमेरिकाका एक, चीनका एक र ओमानका एक आरोही छन्।

बेपत्ता हुनेमा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, नीमा शेर्पा र न्वाङ थिन्डु शेर्पा तथा ग्यालु शेर्पा रहेका छन्। साथै, पाकिस्तानका सोहेल साखी, अमेरिकाकी म्यालोरी गाइस, चीनका वाङ झोङ र ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी पनि टोलीमा छन्।

नेपालका व्यवसायी तथा सांसद मिङ्मा ग्याबु शेर्पाका अनुसार के-टु र के-थ्री क्षेत्रमा रहेका आरोहीहरू पनि उद्धारमा सहयोग गर्न आफ्ना शिविरबाट ब्रोड पिकतर्फ गइरहेका छन्। इम्याजिन नेपालका सदस्यहरू पनि खोजी अभियानमा सहभागी भएका छन्।

मिङ्मा ग्याबु शेर्पाले निर्मल पुर्जाको ट्र्याकिङ उपकरणमा बिहीबार केही समय गतिविधि देखिएको पुष्टि गरेका छन्। यद्यपि, त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन।

८ हजार ४७ मिटर अग्लो ब्रोड पिक विश्वका सबैभन्दा कठिन आरोहणमध्ये एक मानिन्छ। यही हिमालको शिखरनजिक बिहीबार दिउँसो हिमपहिरो गएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल करिब साढे ६ महिनामै आरोहण गरेर विश्व कीर्तिमान बनाएका आरोही हुन्। उनले अक्सिजनविना ती सबै १४ हिमाल दोस्रो पटक पनि आरोहण गर्ने लक्ष्यसहित यसपटक पाकिस्तान पुगेका थिए।

ब्रोड पिक सफलतापूर्वक आरोहण गर्न सके उनको लक्ष्य पूरा हुन केवल एक हिमाल मात्र बाँकी रहने थियो।