काठमाडौं। नेपालको विद्युतीय सवारीसाधन (इभी) बजारमा अहिले ३० लाखदेखि ४० लाख रुपैयाँ मूल्य सेगमेन्टमा सबैभन्दा चर्को प्रतिस्पर्धा देखिएको छ।
केही समय अघिसम्म ४० लाखमाथिका प्रिमियम मोडलका गाडीमा केन्द्रित प्रतिस्पर्धा अहिले मध्यम मूल्यका कम्प्याक्ट एसयूभी र क्रसओभरतर्फ सरेको हो।
नयाँ कर संरचनापछि गाडीको मूल्यमा केही फेरबदल भए पनि प्रतिस्पर्धा झन् तीव्र भएको छ। यही साउनको अन्तिम साता र भदौमा हुने अटो शोदेखि दसैं-तिहार लक्षित अफरमा समेत यो सेगमेन्टका गाडीमा ठूलो प्रतिस्पर्धा हुने देखिन्छ।
यो सेगमेन्टमा बिक्री अझ बढ्ने र कम्पनीहरुबीच मूल्य तथा फिचरको प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ। त्यसैले इभी बजारमा अहिले ३०-४० लाख रुपैयाँको सेग्मेन्ट नै ‘ब्याटल ग्राउण्ड’ बनेको हो।
यही मूल्य सेगमेन्टमा पहिलो पटक कार किन्ने, पेट्रोलबाट इभीमा रुपान्तरण हुने तथा पारिवारिक प्रयोगका लागि सवारी खोज्ने ग्राहक सबैभन्दा बढी छन्। व्यवसायीले पनि ग्राहकको आकर्षणलाई ख्याल गरी ३०-४० लाख रुपैयाँ सेगमेन्टका गाडी बजारमा ल्याइरहेका छन्।

पछिल्लो समय ह्याचब्याक सेगमेन्टका गाडीको बिक्री केही घटेकामा इभीले गर्दा पुनः ग्राहकहरूको चासो बढेको हो। यो सेगमेन्टमा प्रतिस्पर्धा अब केवल मूल्यमा सीमित छैन, ब्याट्री क्षमता, चार्जिङ गति, सुरक्षा प्रविधि, एडास, ग्राउण्ड क्लियरेन्स, बिक्रीपछिको सर्भिस तथा स्पेयर पार्ट्सको उपलब्धता र ब्रान्डप्रतिको विश्वसनीयताले पनि ग्राहकलाई प्रभाव पार्न थालेको छ।
सरकारले गत जेठ १५ गते बजेटमार्फत मोटर पावर (किलोवाट) आधारित कर प्रणाली हटाएर गाडीको मूल्य (सीआईएफ)मा आधारित कर प्रणाली लागू गरेपछि अधिकांश कम्पनीले नयाँ मूल्य सार्वजनिक गरिसकेका छन्। बजेटपछि केही मोडल महँगा भएका छन्।
अहिले यो मूल्य सेगमेन्टमा बीवाइडी, एमजी, टाटा, डोङफेङ नामी, लिपमोटर, चेरी क्युक्यु, प्रोटोन लगायत ब्रान्डले ग्राहक तान्न नयाँ मोडल, आकर्षक फाइनान्स, एक्सचेन्ज अफर र लामो ब्याट्री वारेन्टीलाई प्रमुख हतियार बनाइरहेका छन्।
बजारमा बीवाइडीको एटो१ का दुई भेरियन्ट, प्रोटोन इम्यास५, डोङफेङ नामी बक्स, एमजी वीन्डसर, टाटा पन्च र टियागो लक्स भेरियन्ट लगायत गाडीबीच प्रतिस्पर्धा छ।

प्रोटोनको इम्यास५ को मूल्य बेस भेरियन्टको ३० लाख र टप भेरियन्टको ३५ लाख रुपैयाँ छ। यसमा ३०.१२ र ४०.१६ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक र रियर ह्वील ड्राइभिङ सिस्टम छ। ६ वटा एयर ब्याग रहेको यो गाडीले ब्याट्री अनुसार २२५ र ३२५ किलोमिटर रेन्ज दिने विक्रेता कम्पनीले जनाएको छ।
यो गाडीको बेस भेरियन्टमा ५८ किलोवाट मोटर र टप भेरियन्टमा ८५ किलोवाट क्षमताको मोटर राखिएको छ। गाडीमा सुरक्षाका लागि एडास फिचर पनि उपलब्ध छ।
यही सेगमेन्टमा पर्ने टाटाको पन्च इभीको मूल्य भेरियन्ट अनुसार ३८ लाखदेखि ४० लाख रुपैयाँसम्म छ। यसमा अहिले २५ र ३५ किलोवाट आवर क्षमताका ब्याट्री प्याक उपलब्ध छ।

यसको फेसलिफ्ट मोडल पनि नेपाल आइसकेको छ। जसमा धेरै कुरा परिवर्तन र अपग्रेड भएको विक्रेता कम्पनी सिप्रदी ट्रेडिङले जनाएको छ। जस्तै ब्याट्री प्याक ४० किलोवाट आवर बनाइएको छ। ग्राउन्ड क्लियरेन्स १९५ एमएम छ। अन्य फिचर पनि थपिएका छन्।
डोङफेङ नामी बक्स ३१.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक र ४२.३ किलोवाट आवर क्षमताको छ। डोङफेङका यी दुवै मोडलमा ७० किलोवाट क्षमताका मोटर छन्। यो गाडी ह्याचब्याक सेगमेन्टमा नेपाली बजारमा बिक्री भइरहेको छ।
बीवाइडी एटो वान नेपालमा उपलब्ध एक किफायती र आकर्षक विद्युतीय ह्याचब्याक कार हो। एटो-वान स्ट्याण्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्टमा बिक्री भइरहेको छ।
कम्पनीले स्ट्याण्डर्ड रेन्ज भनेको डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट अवार र लङ रेन्ज प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ। यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको छ।
कुन-कुन आउँदैछन् यो सेगमेन्ट प्रतिस्पर्धा गर्न?
यही सेगमेन्टमा धेरै ब्रान्डका इभी आउने तयारीमा छन्। पन्च इभीको फेसलिफ्ट, आरफक्सको टी१, चेरीको क्युक्यु थ्री, लिपमिटरको बीजेरो थ्री जस्ता नयाँ गाडी पनि नेपाली बजारमा आउँदैछन्। जुन यही सेगमेन्टका हुन्।
आरफक्स ब्राण्डको टी१ गाडी लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा भित्र्याउन लागेको हो। यो क्रसओभर गाडी नाइमा मोबिलिटी एक्स्पोमा देखिनेछ। यो गाडीको मूल्य पनि ३०-४० लाख रुपैयाँको बीचमा हुनेछ।
चिनियाँ गाडी उत्पादक चेरीको अर्को कार ब्रान्ड क्युक्युको सानो ह्याचब्याक कार पनि नेपाल ल्याउने तयारी गरिएको छ। यसमा ९० किलोवाट क्षमताको मोटर भएको रियर ह्वील ड्राइभ छ। ह्याचब्याक सेगमेन्टको यो गाडीको मूल्य पनि यही ३०-४० लाख रुपैयाँको बीचमा राख्ने तयारी छ।

यसमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। फ्रन्ट पार्किङ सेन्सरसहित इन्टेलिजेन्ट अटो पार्किङ फिचर छ। ५४० डिग्रीको प्यानारोमिक सनरुफ पनि छ। २१ वटा सेफ्टी फिचर भएको एडास लेभल टु छ।
लिपमिटरको बीजेरो३ एक्सको दुई वटा भेरियन्ट नेपाल ल्याइँदैछ। ३९.८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक भएको भेरियन्ट यही सेगमेन्टमा आउने कम्पनीले जनाएको छ।
कम्पनीले टप भेरियन्टको मोटर पावर र ब्याट्री साइज घोषणा गरिसकेको छ। तर तल्लो सेगमेन्टमा आउने गाडीको भने अहिलेसम्म केही खुलाइएको छैन। टप भेरियन्ट १४५ किलोवाट क्षमताको मोटर पावर र ५३ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा हुनेछ।

साथै वुलिङ ब्रान्डको विङ्गोले पनि नेपाली बजारमा यही सेगमेन्टमा कमब्याक गर्दैछ। केही वर्ष अगाडि नेपाली बजारमा आएको यो गाडी अहिले अपग्रेड गरेर ल्याउन लागिएको हो। यसको लाइट र प्रो गरी दुई भेरियन्ट नेपालमा ल्याउने तयारी पूरा भएको बिक्रेता कम्पनीले जनाएको छ।