काठमाडौं। सुनसरी र मधेश प्रदेशमा फैलिएको साम्प्रदायिक हिंसा रोक्न प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ निष्क्रिय रहे। द्विपक्षीय झडपमा गोली लागेर ३ जनाको मृत्यु भइसकेको अवस्थामा पनि शाह र गुरुङको भूमिका समन्वयकारी नबनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वयम अग्रसर बने।
संकटका बेला समेत राजनीतिक दल तथा जनप्रतिनिधिसँग संवाद नगरेका शाहले सरकार प्रमुखको भूमिका चर्को आलोचित बन्यो।
प्रधानमन्त्री र रास्वपाको हिसाबले राजनीतिक तवरमा जति धेरै शाह चुके त्यति नै धेरै सभापति रवि लामिछाने सफल देखिएका छन्। लामिछानेको भूमिकाको प्रशंसा उनको दल रास्वपाले मात्रै होइन प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नै गरेका छन्।
शाहको राज्य सञ्चालनमा लगातार देखिएको अपरिपक्वताका अघि लामिछानेले सुझबुझपूर्ण कदमहरू चाले। शीर्ष नेताहरूको बुझाइमा लामिछानेले संकट समाधान गर्न जस्तो भूमिका खेल्नुपर्ने थियो त्यसमा उनी पुरै अब्बल रहे।
लामिछाने कतिसम्म संयमित देखिएका छन् भन्न दुई दिनको घटनाक्रम केलाउँदा पनि छर्लङ्ग हुन्छ। बुधवार लामिछानेले सिंहदरबारमा सर्वदलीय बैठक राखे। जहाँ शाह र गुरुङ उपस्थिति हुनुपर्नेमा अनुपस्थित रहे। जसप्रति नागरिक समाज र दलका नेताहरूले गम्भीर प्रश्न उठाएका छन्। १४ दिनपछि बिहीबार बसेको संसद् बैठकको अधिकांश दृश्य शाह र गुरुङलाई खोज्नमै केन्द्रित रह्यो।
दिनभरको निरन्तरको दबाबपछि अबेर साँझ मात्र टेलिभिजनमार्फत जनताका नाममा सम्बोधन गरेका प्रधानमन्त्री शाहको सम्बोधनमा कुनै संकट समाधानको संकेत छैन। बरु उनले रविले गरेको र सरकारका तर्फबाट एक हिसाबले बहिस्कार गरिएको सर्वदलीय बैठकलाई समेत आफूले गरेको पहलको रूपमा लिएका छन्।

‘परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न। पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नुभएको छ,’ सम्बोधनमा शाहले भने।
शाहको भूमिका लगातार आलोचित भइरहँदा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त ‘लामिछानेले नयाँ राजनीतिक सहकार्यको सुरुवात गरेको’ भन्दै राजनीतिक परिस्थिति नै अर्कै ढंगमा अघि बढ्न लागेको संकेत गरेका छन्। प्रचण्डको अभिव्यक्तिमा शाहप्रति जति धेरै आक्रोश थियो त्यति नै लामिछानेप्रति आशा थियो।
प्रचण्डको अभिव्यक्तिमा विगतमा जसरी आफूले संकटका बेला समन्वयकारी भूमिका निभाएको हो त्यो ठाउँमा अहिले लामिछाने देखिएको संकेत थियो। उनले शाह चुक्दा लामिछाने अब्बल बनेको टिप्पणी गरे। ‘हामी सबै दल मिलेर सामूहिक अपिल जारी गर्यौं। पार्टी सभापतिले जुन भूमिका खेल्नुभयो, त्यो खासमा प्रधानमन्त्री बालेन शाहले खेल्नुपर्ने थियो। यस खालको संवेदनशील र महत्त्वपूर्ण बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित हुनुलाई हामी सबैले चिन्ताको विषय मानेका छौं,’ उनले भने।

नेकपाका संयोजक प्रचण्ड मात्र होइन रास्वपाप्रति कठोर टिप्पणी गर्दै आएको एमाले पनि लामिछानेसँग खुसी छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पनि शाहको जति चर्को गरी आलोचना गरेकी थिइन् त्यसरी नै लामिछानेको प्रशंसा गर्न छुटाएकी छैनन्।
लामिछानेले जेठ १७ गते बालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले संसद् अवरुद्ध गरेको बेला पनि दलहरूसँग संवाद गरे। त्यति बेलादेखि नै दलहरूसँग नजिकिएका लामिछानेसँग कांग्रेस-एमाले तथा नेकपाका नेताहरू पछिल्लो समय बाक्लो संवादमा जुटेका छन्।
बुधवार नै कांग्रेस पार्टी कार्यालय पुगेर वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिएका लामिछानेले त्यहाँ फिर्ता भएपछि पनि शीर्ष नेताहरूसँग अनौपचारिक संवाद गरे। उनकै पहलमा रास्वपाका उनी निकट अन्य नेताहरुलेसमेत दलहरूको संवादमा सक्रिय छन्।
लामिछानेले नै बिहीबार कोशी र मधेश प्रदेशका रास्वपा सांसदहरूसँग सिंहदरबारमा संवाद गरे। निर्वाचन क्षेत्रमा गएर जसरी पनि समन्वयकारी भूमिका निभाउन निर्देशन दिएका छन्। राजनीतिक तवरमा रास्वपाका ग्राउन्ड बनाउन लामिछाने मधेश केन्द्रित दल तथा नेताहरूसँग पनि संवाद गरेका छन्।
लामिछानेले बिहीबार नै आफैं मधेश जानेबारेमा समेत आफू निकट नेतासँग छलफल गरेका थिए। तर, उच्चस्तरीय संवादमै जुट्न उपयुक्त हुने नेताहरूको धारणा पछि उनी मधेश गएनन्। अहिले चौतर्फी प्रशंसा पाइरहेका लामिछाने यसअघि पनि आलोचनाको केन्द्रमै रहे। उनीभन्दा शाहको समर्थन ह्वात्त बढ्दो थियो। सामाजिक सञ्जालदेखि नागरिक समाजसम्मले शाह परिवर्तनकारी नेता भन्दै प्रशंसा गरेका थिए। लामिछानेलाई ‘टेस्टेड’ र एमाले-कांग्रेससँगको गठ जोडमा रमाइसकेको नेताको रूपमा आलोचना हुने गरेको थियो। तर, अहिले लामिछानेका अघि शाहको छवि फिक्का देखिन थालेको छ।
उनकै समर्थकसमेत पार्टीभित्र र बाहिर निराश बन्न थालेका छन्। रास्वपाभित्रकै समर्थन पनि पछिल्लो केही दिनयता घटिरहेको छ। शाह पक्षका नेताहरू खुलेर बोल्न सकिरहेका छैनन् भने लामिछाने पक्षमा उच्च मनोबल देखिन थालेको छ।
लामिछानेको सुझबुझको अर्को घटना राष्ट्रपतिसँगको भेटवार्ता पनि हो। शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग बाध्य भएर बिहीबार राति कुराकानी गर्दा लामिछानेले बुधबारनै राजनीतिक ब्रिफिङ गरे। जसले लामिछानेप्रति समर्थन त बढाएको छ नै, उनको राजनीतिक परिपक्वता प्रदर्शन पनि भइरहेको छ। शाहको भूमिकालाई लिएर लामिछानेलाई दलहरूले सोधेका प्रश्नमा सोझै शाहको आलोचना नै त गरेका छैनन् तर शाहप्रति लामिछानेको अभिव्यक्तिमा ढुक्क हुने स्थिति छैन।

लामिछाने र शाहको दुरीसमेत रास्वपाको आन्तरिक गतिविधिमा राम्रैसँग बढिसकेको छ। चितवन महाधिवेशनयता नै दुई नेताबिच सौहार्दतापूर्ण संवादसमेत भएको छैन। लामिछानेले बिहीबार शाहलक्षित टिप्पणी गरेका छन्। ‘हिंसा नभड्कियोस् भन्न,सद्भाव कायम रहोस् भन्नका लागि यदि मसँग आगो निभाउन पानी छैन भने म नबोल्दा राम्रो। हामीले बोलेको बोलीले त्यहाँ शान्ति कायम हुन्छ, आगो निभ्छ भने त्यो बोलेको राम्रो हुन्छ,’ शाहको भूमिकाप्रति लामिछानेले सांकेतिक रूपमा असन्तुष्टि समेत जनाएका छन्।
बिहीबारको केन्द्रीय कमिटी बैठकमा समेत लामिछाने र शाह पक्ष आमनेसामनेको स्थितिमा पुगेका बेला पनि लामिछानेले नै बैठकलाई साम्य बनाएका थिए। उनको संशय बालेनप्रति समिति बैठकमा पनि प्रस्टै देखिएको रास्वपाका नेताहरूले बताएका छन्। आफू शाहलाई ५ वर्ष प्रधानमन्त्री मान्न तयार भए पनि प्रधानमन्त्रीका कारण पार्टी के हुने भन्नेमा चिन्तित हुन थालेको अभिव्यक्ति लामिछानेले दिएका थिए।
तर, शाहको सरकार टिकाउन आफू हरदम तयार रहेको पनि लामिछानेले बताए। अहिले कांग्रेस, एमालेलगायतका राजनीतिक दलभित्र लामिछानेले जति समर्थन पाइरहेका छन् त्यति नै समर्थन शाहले गुमाइरहेका छन् भने नागरिकको नजरमा पनि शाहको सरकार दिनप्रतिदिन आलोचनाको केन्द्रमा पर्न थालेको छ।