काठमाडौं। मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।
कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवर्धन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले बैंक र नगरपालिकाले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता गरेका हुन्।
सम्झौतामा बैंकका कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजलबहादुर गिरी र नगरपालिकाकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा उद्यमीले व्यवसायको प्रकृति अनुसार बैंकबाट धितोबिना अधिकतम २ लाखसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
साथै नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ बमोजिम ऋणीले सतप्रतिशत ब्याज अनुदान प्राप्त गर्नेछन्।