BIZMANDU
www.bizmandu.com

सप्तरीको पनसेरामा नयाँ सबस्टेसन संचालनमा, विद्युत् आपूर्तिको गुणस्तर सुधारिने

२०८३ साउन १४

सप्तरीको पनसेरामा नयाँ सबस्टेसन संचालनमा, विद्युत् आपूर्तिको गुणस्तर सुधारिने
सप्तरीको पनसेरामा नयाँ सबस्टेसन संचालनमा, विद्युत् आपूर्तिको गुणस्तर सुधारिने


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका पनसेरामा नवनिर्मित ३३/११ केभी ६/८ एमभीए क्षमताको सबस्टेसन संचालनमा ल्याएको छ।

Tata
GBIME

बुधबार साँझदेखि संचालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। करिब १२ करोड रुपैयाँको लागतमा निर्माण गरिएको सो आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी लाइनसमेत निर्माण गरिएको छ।

नयाँ पूर्वाधार संचालनमा आएसँगै खड्क नगरपालिका तथा सुरुंगा नगरपालिकाअन्तर्गत कदमाहा, लालपट्टा, कल्याणपुर लगायतका क्षेत्रमा रहेका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार नयाँ सबस्टेसन संचालनमा आएपछि ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा विद्युत् आपूर्तिमा हुने अवरोधको समस्या उल्लेखनीय रूपमा घट्नेछ। यसले भोल्टेज प्रोफाइल सुधार गर्नुका साथै उपभोक्तालाई थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मधेश प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधारतर्फ यो महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले विद्युत् उत्पादन वृद्धि मात्र सरकारको उद्देश्य नभई उत्पादन भएको विद्युत् प्रत्येक घरपरिवार, उद्योग तथा व्यवसायसम्म गुणस्तरीय र भरपर्दो रूपमा पुर्‍याउने सरकारको प्राथमिकता रहेको उल्लेख गरे।

मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको बताउँदै नागरिकका गुनासालाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता निरन्तर रहने स्पष्ट पारे।