BIZMANDU
www.bizmandu.com

अटो बजारमा उथलपुथल, शीर्ष १० मा चिनियाँ ब्रान्डको बहुलता बढ्दा कुन-कुन बाहिरिए?

२०८३ साउन १३

अटो बजारमा उथलपुथल, शीर्ष १० मा चिनियाँ ब्रान्डको बहुलता बढ्दा कुन-कुन बाहिरिए?
अटो बजारमा उथलपुथल, शीर्ष १० मा चिनियाँ ब्रान्डको बहुलता बढ्दा कुन-कुन बाहिरिए?


काठमाडौं। नेपाली अटो बजारमा गाडी बिक्री संख्याका आधारमा शीर्ष १० ब्राण्डको सूचीमा उथलपुथल देखिएको छ।

Tata
GBIME

गत आर्थिक वर्ष टोयोटा, सेरेस र इसुजु शीर्ष १० ब्राण्डका गाडीको सूचीबाट बाहिरिएका छन् भने चिनियाँ ब्रान्डको बहुलता बढेको छ।

अघिल्लो वर्षजस्तै प्यासेन्जर सेगमेन्टको बजार हिस्सा १६ हजार युनिट हाराहारी हुँदा चिनियाँ गाडी उत्पादक ब्राण्ड बीवाइडी, एमजी, ओमोडा एण्ड जेको, डोङफेङ नामी र डीपल शीर्ष १० को सूचीमा छन्।

टाटा गाडीलाई उछिन्दै बीवाइडी पहिलो स्थानमा पुगेको छ। बजारमा प्रवेश गरेको धेरै नभएको बीवाइडी आक्रामकरुपमा बजार विस्तार गर्दै एकै वर्षमा ४ हजार २७० युनिट गाडी आयात गरेर पहिलो स्थानमा पुगेको हो। अघिल्लो आवमा बीवाइडी कुल २ हजार ५११ युनिटसहित दोस्रो स्थानमा थियो।

बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले सबैभन्दा धेरै एटो २ आयात गरेको छ। दोस्रोमा एटो १ आयात गरेको तथ्यांक छ। विद्युतीय गाडीमा आकर्षणले बीवाइडीलगायत चिनियाँ ब्राण्डका गाडीको बिक्री बढेको देखिन्छ।

अहिले बजारमा इभीको सबैभन्दा ठूलो हिस्सा चिनियाँ ब्रान्डका गाडीको छ।

हुन्डाई दोस्रो स्थानमा उक्लिएको छ। हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गत आर्थिक वर्ष २ हजार ६०६ युनिट गाडी आयात गरेको छ। कम्पनीले प्राय: अनएसेम्बल भेन्यु र क्रेटा आयात गरेको हो। हुन्डाईको इभी आयात निकै कम छ भने पेट्रोल गाडी सबैभन्दा धेरै भित्र्याइएको छ।

अघिल्लो वर्ष २ हजार ७७९ युनिट आयात गरेर पहिलो स्थानमा रहेको टाटाले यसपालि तेस्रो स्थानमा चित्त बुझाएको छ। नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गत आर्थिक वर्ष जम्मा १ हजार ८८५ युनिट गाडी भित्र्याएको छ।

ओमोडा एण्ड जेको/आईकार चौथो स्थानमा छ। यसको आधिकारिक बिक्रेता शारडा ग्रुपको एसपीजी अटोमोबाइल्सले गत आर्थिक वर्ष १ हजार २०८ युनिट गाडी आयात गरेको छ। कम्पनीले जेको जे सिरिज ४०१ युनिट, आईकार ५१४ र ओमोडा २९३ युनिट भित्र्याएको हो।

नेपालमा प्यासेन्जर कार बिक्री लामो समय पहिलो नम्बरमा ओगट्न सफल सुजुकीले इभी नहुँदा पछिल्लो समय बजार गुमाउँदै गएको छ। यसपालि सुजुकी पाँचौं स्थानमा परेको छ।

सुजुकीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्सले गत आर्थिक वर्ष १ हजार १०५ युनिट गाडी आयात गरेको छ। कम्पनीले सबैभन्दा धेरै ब्रेजा गाडी आयात गरेको हो। कम्पनीले ब्रेजा मात्रै ५८५ युनिट भित्र्याएको छ।

छैटौं नम्बरमा डोङफेङको नामी परेको छ। यसको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले गत आर्थिक वर्ष डोङफेङको नामी ब्रान्डका गाडी ९३९ युनिट आयात गरेको छ। कम्पनीले सबैभन्दा धेरै नामी भिगो ६७० युनिट ल्याएको छ।  

एमएडब्लू ग्रुपले नै बिक्री गर्ने चांगन डिपल सातौं स्थानमा छ। कम्पनीले गत आर्थिक वर्ष चांगन डिपल ८२७ युनिट आयात भित्र्याएको हो। कम्पनीले एक वर्षमा थाइल्यान्डबाट ८२४ युनिट डिपल एस जेरो फाइभ आयात गरेको छ।

किया ७७९ युनिट गाडीसहित आठौं स्थानमा बसेको छ। यो पटक एमजी नवौं स्थानमा पुगेको छ। अघिल्लो वर्ष एमजी १ हजार युनिटभन्दा धेरै गाडी आयात भएकामा यो पटक २८७ युनिट मात्रै भित्रिएकाले नवौं स्थानमा पुगेको हो।

दसौं नम्बरमा महिन्द्रा छ। यो ब्राण्डका गाडी गत आर्थिक वर्ष २७९ युनिट आयात गरिएको छ।

दुई दर्जन ब्रान्डका गाडी १०० युनिटभन्दा कम आयात

अहिले बजारमा स्थापित रहेका ब्रान्डका प्यासेन्जर कार पनि एक वर्षमा १०० युनिटभन्दा कम आयात भएका छन्। यसमा जीप, मित्शुबिसी, सुबारु, माज्दा, फोर्ड, फक्सवागनदेखि प्रोटोनसम्म छन्।

यी ब्रान्डले कुनै समय बजारमा राम्रो हिस्सा ओगटेका थिए। होन्डा र स्कोडाका गाडी पनि १०० युनिट भन्दा तल झरेका छन्।

यी ब्रान्ड इभी प्रडक्ट नहुँदा अहिले छायाँमा परेका हुन्। केही स्थापित ब्रान्डले विस्तारै इभी उत्पादन ल्याउने तयारी गरिरहेका छन्।

विशेषगरी चिनियाँ, भारतीय, युरोपेली, जापानी र कोरियाली ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गरेका छन्। विद्युतीय सवारीसाधनको माग बढेसँगै नयाँ-नयाँ ब्रान्ड र मोडल भित्रिने क्रम जारी छ। त्यसैले गर्दा पुराना पेट्रोल कारको बिक्री खस्किएको देखिन्छ। पेट्रोल कार बिक्री गर्दै आएका पुराना बिक्रेता पनि इभीतिर केन्द्रित हुँदा बजार हिस्सा गुमिरहेको छ।