BIZMANDU
www.bizmandu.com

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङ एपमै अन्तर्राष्ट्रिय इसिम र आइडीपी सेवा

२०८३ साउन १३

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङ एपमै अन्तर्राष्ट्रिय इसिम र आइडीपी सेवा
कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङ एपमै अन्तर्राष्ट्रिय इसिम र आइडीपी सेवा


काठमाडौं। कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी ‘कुराकानी अनलाइन प्रालि’ (निम्बज)बीच ग्राहकहरूलाई थप नवीन तथा डिजिटल सेवाहरू उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।

Tata
GBIME

उक्त सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा (इसिम) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आइडीपी) सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ।

यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब मोबाइल बैंकिङ एपमार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा इसिम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन्। विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकहरूका लागि यी सेवाहरू विशेष रूपमा उपयोगी हुने कम्पनीले जनाएको छ।

विदेश यात्रा गर्दा भरपर्दो इन्टरनेट पहुँच र आवश्यक यात्रा कागजातहरूको व्यवस्था अत्यन्त महत्त्वपूर्ण हुन्छ। इसिम सेवाले ग्राहकहरूलाई विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न, सिम परिवर्तन गर्न वा विभिन्न नेटवर्क सेवाको खोजीमा समय खर्च गर्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज रूपमा डेटा सेवा प्रयोग गर्न सक्षम बनाउनेछ।

त्यसैगरी, आइडीपी सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो तथा व्यवस्थित बनाउँदै ग्राहकहरूलाई आवश्यक सेवा डिजिटल माध्यमबाट प्राप्त गर्न सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ।

ग्राहकहरूले इसिम तथा आइडीपी सेवाको शुल्क कुमारी बैंक मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमा नै भुक्तानी गर्न सक्ने छन्। यसले अन्तर्राष्ट्रिय सेवा उपयोगका लागि विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता कम गर्नुका साथै सम्पूर्ण प्रक्रिया थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने अपेक्षा गरिएको छ।