काठमाडौं। सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
अख्तियारले २ करोड २६ लाख १३ हजार रुपैयाँ बिगो कायम गरी इन्जिनियर चौधरीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
२०६५ पुस ११ गते सरकारी सेवामा प्रवेश गरेका चौधरीको २०८२ असार २९ गतेसम्मको सम्पत्ति जाँच गर्दा २ करोड २६ लाख १३ हजार रुपैयाँको स्रोत नखुलेको अख्तियारको भनाइ छ। त्यो अवधिमा चौधरीसँग ४ करोड ९८ लाख ६८ हजार रुपैयाँ बराबरको सम्पत्ति देखिएको थियो।
चौधरीको सम्पत्ति उनले पेस गरेको सम्पत्ति विवरणसँग नमिलेको अख्तियारले बताएको छ। अख्तियारले इन्जिनियर चौधरीको पत्नी अर्पना कुमारीलाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ।