काठमाडौं। नेपाल राष्ट्र बैंकले सञ्चालक समितिदेखि अन्य बैठक भत्ताहरु वृद्धि गरेको छ। राष्ट्र बैंकले साउन १ गतेदेखि लागू हुने गरी सञ्चालक समिति, उपसमितिको बैठक भत्ता, खाजा खर्च तथा विशेष भत्ता र सञ्चालकहरुको सुविधा वृद्धि गरेको हो।
राष्ट्र बैंकले सञ्चालक समितिको बैठक भत्ता चार हजार रुपैयाँ बढाएको छ। पहिले ९ हजार रहेको भत्ता अब १३ हजार पुगेको छ।
राष्ट्र बैंकमा सोमबार र बिहीबार नियमित जस्तो सञ्चालक समितिको बैठक हुन्छ। आकस्मिक एजेण्डा भए थप बैठक पनि बस्छ।
विद्यमान ऐनमा राष्ट्र बैंकको सञ्चालक समितिमा गभर्नर, दुई डेपुटी गभर्नर, अर्थसचिव र अन्य तीन जना सञ्चालक हुने व्यवस्था छ। अहिले एक डेपुटी गभर्नर पद रिक्त छ।

सञ्चालक समिति बाहेक पनि राष्ट्र बैंकभित्र गभर्नर, सञ्चालक, डेपुटी गभर्नरहरुले नेतृत्व गर्ने समितिहरु छन्। ती समितिको बैठक भत्ता ७ हजारबाट १० हजार पुर्याइएको छ।