BIZMANDU
www.bizmandu.com

एक्सले सुरु गर्‍यो डिजिटल भुक्तानी सेवा, मस्कको ‘एभ्रिथिङ एप’ सपना थप नजिक

२०८३ साउन १३

एक्सले सुरु गर्‍यो डिजिटल भुक्तानी सेवा, मस्कको ‘एभ्रिथिङ एप’ सपना थप नजिक
एक्सले सुरु गर्‍यो डिजिटल भुक्तानी सेवा, मस्कको ‘एभ्रिथिङ एप’ सपना थप नजिक


न्युयोर्क। अर्बपति एलन मस्कको सामाजिक सञ्जाल कम्पनी ‘एक्स’ (पहिलेको ट्विटर) ले प्रयोगकर्ताबीच सिधै रकम पठाउन र राख्न मिल्ने ‘एक्स मनी’ सेवा सार्वजनिक गरेको छ।

Tata
GBIME

मस्कले लामो समयदेखि परिकल्पना गर्दै आएको ‘एभ्रिथिङ एप’ (सबै सेवा एउटै एपमा) बनाउने योजनाअन्तर्गत यो वित्तीय सेवा अघि बढाइएको हो।

‘एक्स मनी’ कुनै नयाँ बैंक भने होइन। यसले अमेरिकाको क्रस रिभर बैंकको बैंकिङ पूर्वाधार र प्रविधि प्रयोग गर्दै आफ्नै ब्रान्डमार्फत सेवा सञ्चालन गरिरहेको छ। नयाँ वित्तीय प्रविधि कम्पनीहरूले छुट्टै बैंक स्थापना गर्न लाग्ने समय र लागत बचाउन यसरी विद्यमान बैंकसँग साझेदारी गरेर सेवा सुरु गर्नु सामान्य अभ्यास हो।

हाल यो सेवा निमन्त्रणा पाएका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ। प्रारम्भिक चरणमा एक्सका सशुल्क सदस्यहरूले मात्र निमन्त्रणा प्राप्त गर्न सक्नेछन्। सेवा प्रयोग गर्ने ग्राहकले ‘एक्स’ ब्रान्डको भिसा डेबिट कार्ड पाउनेछन्, जुन कुनै पनि एटीएममा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

एक्स मनीमार्फत प्रयोगकर्ताले अन्य एक्स प्रयोगकर्तालाई तत्कालै रकम पठाउन सक्नेछन्। ग्राहक आकर्षित गर्न कम्पनीले खातामा राखिएको रकममा वार्षिक ६ प्रतिशत प्रतिफल र योग्य खरिदमा ३ प्रतिशतसम्म नगद फिर्ता (क्यासब्याक) दिने घोषणा गरेको छ।

तर ६ प्रतिशत प्रतिफल पाउन खातामा कम्तीमा एक हजार अमेरिकी डलर जम्मा गर्नुपर्नेछ। साथै प्रयोगकर्ता एक्सको प्रिमियम सदस्य हुनुपर्नेछ, जसको मासिक शुल्क कम्तीमा ८ अमेरिकी डलर छ। कम्पनीका अनुसार प्रिमियम सदस्यताको खर्च धान्न कम्तीमा १,६०० अमेरिकी डलर जम्मा गरेपछि मात्र उक्त प्रतिफलले सदस्यता शुल्क बराबरको आम्दानी दिन सक्छ।

मस्कको वित्तीय सेवासँग पुरानै सम्बन्ध छ। उनले सन् १९९९ मा ‘एक्स डट कम’ नामबाट प्रारम्भिक अनलाइन बैंकिङ कम्पनी स्थापना गरेका थिए। पछि उक्त कम्पनी अर्को कम्पनीसँग गाभिएर अहिलेको पेपाल बनेको थियो।

यद्यपि एक्स मनीले प्रवेश गरेको बजार भने निकै प्रतिस्पर्धी छ। अहिले अमेरिकामा डिजिटल भुक्तानी र रकम स्थानान्तरण सेवामा पेपालअन्तर्गतको भेन्मो, जेली र क्यास एपजस्ता सेवाहरूको बलियो उपस्थिति छ। त्यसैले एक्स मनीले ती स्थापित सेवासँग प्रतिस्पर्धा गर्दै प्रयोगकर्ताको विश्वास जित्नुपर्ने चुनौती सामना गर्ने विश्लेषण गरिएको छ। (एपी)