काठमाडौं। आइतबार रातिको झडपपछि चर्किएको सुनसरीको प्रदर्शन मत्थर हुने संकेत देखिएको छैन। मंगलबार निषेधाज्ञा र कर्फ्यूबीच नै प्रदर्शन अराजक बनेपछि सुरक्षा निकायलाई टाउको दुखाइको विषय बनेको छ।
सुनसरीको घटनालाई लिएर अन्य जिल्लामा पनि प्रदर्शन हुन थालेको छ। जसले गर्दा तराईका जिल्लामा सुरक्षा तैनाथी बढाइएको छ। सप्तरी, रौतहट, पर्सा, रुपन्देही, बाँके लगायत जिल्लामा सुरक्षाकर्मीलाई अलर्ट बनाइएको छ। स्थानीय नेता र अगुवासँग अगाडि नै समन्वय गरेर अराजक गतिविधि हुन नदिन प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ।
स्थिति सामान्य बनाउन सुनसरीमा सोमबार नै नेपाली सेनालाई मैदानमा उतारिएको थियो। तर मंगलबार मोरङमा समेत असर देखिको छ। विराटनगरका सडकदेखि बजार, व्यवसाय र विद्यालय सामान्य अवस्थामा झैं खुल्न सकेनन्। प्रदर्शनको भयमा जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सूचना जारी गर्दै विवाह, उत्सव, पुराणमा डीजे साउन्ड सिस्टम प्रयोग गर्न रोक लगाएको छ।
कसैले सूचनाको अवज्ञा गरेमा कारबाही गर्ने चेतावनी समेत दिइएको छ। मोरङमा सुरक्षा निकायलाई अलर्ट राखिएको छ।
‘यहाँको अवस्था सामान्य नै हो। तर हामीले सुनसरीको घटनालाई लिएर सुरक्षा निकायलाई अलर्ट राखेका छौं,’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले भने।
डीजे बजाएको विषयमा विवाद हुँदा सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी घाइते भएका थिए। प्रहरीले अधिकांशलाई घुँडा भन्दामाथि गोली हानेको भन्दै भीड आक्रोशित बनेको छ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखका साथै कोशी प्रदेशका डीआइजीको सरुवा गरेको छ। नयाँ सीडीओ र जिल्ला प्रहरी प्रमुखले मंगलबार जिम्मेवारी सम्हालेका छन्।
‘नयाँ व्यक्तिलाई केही समय बुझ्नै लाग्छ। सरुवा गर्नुभन्दा पहिले स्थिति सामान्य भएपछि कैफियत अनुसार सुरक्षाकर्मीलाई कारबाही आवश्यक गर्नु पर्ने हो। तर गलत प्राक्टिस भइरहेको छ,’ प्रहरीका एक अधिकृतले भने।
घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले सुनसरी पुगेर काम थालिसकेको छ।
कहाँ भयो कमजोरी ?
सुरक्षा निकायले गरेको प्रारम्भिक समीक्षामा समन्वयमा कमजोरी भएको देखिएको छ। सुनसरीका प्रहरी प्रमुख बिदामा थिए। ‘प्रमुख बिदामा हुँदा समस्या भएको देखिएको छ,’ प्रहरीका अर्का उच्च अधिकृतले भने, ‘विभिन्न पर्वमा कतिपय जिल्लामा यस्ता विवाद हुने गरेका थिए। तर प्रहरीले सुनसरीको घटनालाई सुरुमा बाइबास गरेको देखिन्छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र इन्टेलिजेन्सबीच पनि घटनामा समन्वय भएको देखिएन। यसमा संयन्त्र चुकेको देखियो।’
राति दुई पक्षबीच झडप भए पछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले फायर खोलेका थिए। सशस्त्र प्रहरीले एसएलआरबाट २० राउन्ड फायर हानेको देखिएको छ। त्यस्तै नेपाल प्रहरीले पेस्तोलबाट ६ राउन्ड गोली प्रहार गरेको थियो।
घटनालाई लिएर चर्को आलोचना भएपछि प्रदर्शनमा उत्रिनेविरुद्ध प्रहरी एक्सन उत्रिन सकेन। सोमबार र मंगलबार कर्फ्यू र निषेधाज्ञाकैबीच प्रदर्शन र भित्रभित्रै हिंसा भड्काउनेको पहिचानपछि पनि प्रहरीले नियन्त्रण गर्न सकेन। जसले गर्दा प्रदर्शनकारीको मनोबल बढेको सुरक्षा निकायको विश्लेषण छ।
जेनजी आन्दोलनपछि सुरक्षाकर्मीको मनोबल खस्किनु र अराजक गतिविधिमा संलग्नलाई कारबाही हुँदैन भन्ने भाष्यले पनि भिड अराजक बनेको प्रहरीको बुझाइ छ। त्यस्तै प्रदर्शनमा घुसपेठ भएको पनि प्रहरीले बताएको छ।