काठमाडौं। नेकपा (एमाले)ले सुनसरीमा भएको झडप नियन्त्रणका लागि संयमतता देखाउन नसकेको भन्दै सरकारको आलोचना गरेको छ।
एमालेले मंगलबार प्रेस विज्ञप्ति जारी गरी संवादको पहल नगरी राज्यका तर्फबाट अनावश्यक बल प्रयोग गर्ने र तुजुक देखाउने काम भएकाले परिस्थिति बिग्रिएर गएको बताएको छ।
अनावश्यक बल प्रयोगका कारण परिस्थिति थप उत्तेजित भएको एमालेको निष्कर्ष छ। ‘विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको छ,’ एमालेले विज्ञप्तिमा भनेको छ।
घाइतेको नि:शुल्क उपचार गर्न तथा पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिन एमालेले माग गरेको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
दमनको सट्टा शान्तिपूर्ण समाधान खोज्न सरकारलाई सुझाव एमालेले धार्मिक सद्भाव कायम गर्न अपील गरेको छ।