BIZMANDU
www.bizmandu.com

सुनसरी घटनालाई राजनीतिकरण नगर्न रविको आग्रह, सामाजिक सहिष्णुता कायम राख्न अपील

२०८३ साउन १२

सुनसरी घटनालाई राजनीतिकरण नगर्न रविको आग्रह, सामाजिक सहिष्णुता कायम राख्न अपील
सुनसरी घटनालाई राजनीतिकरण नगर्न रविको आग्रह, सामाजिक सहिष्णुता कायम राख्न अपील


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग विशेष आग्रह गरेका छन्।

Tata
GBIME

उनले मंगलबार प्रेस विज्ञप्ति जारी गरी कुनै पनि प्रकारका उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आग्रह गरेका छन्।

उनले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने भन्दै साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

‘कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता छ। नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखिको सामाजिक सदभाव हो। यसलाई खलबलाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने गरी कुनै पनि गतिविधि नगर्न/नगराउन हामी सम्पूर्ण आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षहरूमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

रविले घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

‘यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ उनले भनेका छन्।

उनले परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न निरन्तर छलफल गरिरहेको भन्दै घटनालाई राजनीतिककरण नगर्न आग्रह गरेका छन्।

‘यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं। रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरु लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत् विशेष निर्देशन दिइन्छ,’ उनले भनेका छन्।

May be an image of text