काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सल्लाहकार नियुक्तिको विषयमा आरोप लगाएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले जवाफ फर्काएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार अर्थ मन्त्रालयमा भएको वार्षिक राजश्व समीक्षा बैठकमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले २० जना सल्लाहकार नियुक्त गरेको उल्लेख गरेका थिए। उनले आफ्नो बचाउ गर्दै आफूले एकजना मात्र सल्लाहकार राखेको समेत भन्न भ्याए।
‘तपाईंहरूले आजकल सुनिरहनुभएको छ प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार, ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार,’ अर्थमन्त्री वाग्लेले भनेका थिए, ‘मैले एक जना मात्रै सल्लाहकार राखेको छु, अवैतनिक राजश्व सल्लाहकार। भनेपछि राजश्वको विषयलाई मैले कति महत्त्व दिएको छु।’
वाग्लेले २० जनासम्म सल्लाहकार राखेको बताएको कुरा भाइरल भए पछि ऊर्जामन्त्री श्रेष्ठले आफूले एकजना मात्र अवैतनिक सल्लाहकार नियुक्त गरेको स्पष्टीकरण दिएका छन्।
उनले फेसबुकबाटै जवाफ दिँदै मन्त्रालयको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन बिना कुनै सरकारी सुविधा वा भत्ता लिने गरि नियमानुसार नै एकजना अवैतनिक सल्लाहकार मात्रै राखेको बताएका हुन्।
‘ऊर्जा परिवारमा विवेकराज कँडेललाई हार्दिक स्वागत ! आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहिलो सल्लाहकार अवैतनिक (ऊर्जा व्यापार तथा पूर्वाधार) नियुक्त हुनु भएको छ। उहाँको विज्ञता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र दूरदृष्टिले नेपालको ऊर्जा क्षेत्रको नीतिगत सुधार, ऊर्जा व्यापार विस्तार, निजी क्षेत्रको लगानी प्रवद्र्धन तथा क्षेत्रीय ऊर्जा बजारसँगको एकीकरणलाई थप गति दिने विश्वास लिएको छौं,’ उनले स्वर्णिमले गरेको दाबीलाई चिर्दै लेखेका छन्।
विराजभक्तको सचिवालयले पनि अर्थमन्त्री वाग्लेको भनाइ गलत भएको बिजमाण्डूलाई बतायो।
सचिवालयका एक सदस्यले भने,’मन्त्रीज्यूले नियुक्ति दिनु भएको पहिलो व्यक्ति नै विवेकराज कँडेल हो। उहाँलाई पनि कुनै पनि सेवा सुविधा नदिने र आवश्यक परेको बेला मात्र सल्लाह सुझाव दिने गरि नियुक्ति गरिएको हो। कसरी २० जना हुन्छ?,’ ती सचिवालय सदस्यले भने,‘अर्थमन्त्री जस्तो व्यक्तिले यसरी हचुवाको भरमा बोल्न मिल्छ?’
रास्वपाको चितवनमा भएको पहिलो महाधिवेशनमा वाग्लेलाई विराजले उपसभापतिमा समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए।