काठमाडौं । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा यो कारबाही गरिएको हो।
नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कानुनी कारवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिए।
गण्डकी प्रदेशमा पर्ने कास्की, गोरखा, लम्जुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका संचालकलाई उक्त ऐनअनुसार कारबाही गरिएको हो।
त्यसैगरी सो कार्यालयले नयाँ कारोबारका लागि एक हजार ७८ र पुरानो २८ वटा व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौलयन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान गरेको छ।
कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न शीर्षकबाट ७८ लाख ५२ हजार ९६७ रुपैयाँ राजस्व संकलन गरेको छ।