काठमाडौं। सुनसरीको घटनापछि मोरङमा पनि विभिन्न विवाह, उत्सव, पुराणमा डीजे साउण्ड सिस्टम प्रयोग नगर्न स्थानीय प्रशासनले रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबारदेखि अर्को सूचना जारी नभएसम्म कुनै पनि उत्सव, मेला, महोत्सव, धार्मिक कार्यक्रम, चाडपर्वमा समेत डीजे सिस्टम प्रयोग गर्न रोक लगाइएको हो। यदि कसैले सूचनाको अवज्ञा गरेमा कारबाही गर्ने चेतावनी समेत दिइएको छ।
डीजे बजाएको विषयमा विवाद हुँदा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच झडप भएको थियो। झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए। उक्त क्षेत्रमा अझै तनाव छ।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ। समितिले सुनसरी पुगेर काम थालिसकेको छ।
अहिले सुनसरीका केही स्थानमा कर्फ्यु लगाइएको छ। जसको कारण यातायातदेखि शिक्षामा समेत असर परेको छ।
उक्त घटनाका कारण विराटनगर पनि प्रभावित भएको छ। मंगलबार बजार क्षेत्र बन्द छ। सवारी आवागमन पनि पातलो छ।