काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिजको प्रथम सत्रको प्रश्नपत्र परीक्षा बाहिरिएको घटनामा समातिएका व्यक्ति शिक्षक भएको खुलेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार कैलालीको घोडाघोडी घर भइ भक्तपुर बस्ने ३३ वर्षीय संदीप सिंहलाई नियन्त्रणमा लिएको थियो।
गत शुक्रबार भएको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जाल ह्वाटसएप ग्रुपमार्फत बाहिरिएको थियो। जसमा उत्तरसहितको प्रश्नपत्र हालेको अभियोगमा सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। उनले काठमाडौंको कोटेश्वरमा रहेको हिमालयन कलेज र केएमसी कलेजमा पढाउने गरेको खुलेको छ।
‘उनी टिचर भएको देखियो। पार्टटाइमको रुपमा दुई कलेजमा पढाउने गरेका थिए,’ एक अनुसन्धान अधिकृतले बताए।
ग्रुप ‘एमबीएस फर्स्ट सेम, सेक्सन सी’ नाममा तयार पारिएको थियो। एक हजार २३ जना रहेको समूहमा प्रश्नपत्र बाहिरिएपछि अहिले प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले अनुसन्धान थालेपछि ग्रुपमा भएकाहरुले ‘गुप्र लिभ’ गर्न थालेका छन्। आइतबारसम्म झन्डै ५ सय भन्दा बढीले ग्रुप छोडेका हुन्।
प्रहरीको अनुसन्धानमा प्रश्नपत्र लिक गर्ने ग्रुपसँगै अर्को ग्रुप पनि देखिएको छ। त्यो प्रश्नपत्र अर्को ग्रुपमा आएपछि ‘सुलभ सर’ विद्यार्थीहरु राख्ने गुप्रमा हालेको देखिएको हो।
शुक्रबार दिउँसो १२ बजेतिर भएको परीक्षाको प्रश्नपत्र त्यसको पाँच मिनेटमा नै ग्रुपमा पुगेको थियो। त्यसपछि त्यसको उत्तर समेत ग्रुपमा नै पठाइएको अनुसन्धानमा खुलेको छ। ग्रुप सदस्यले प्रश्नपत्र समेत पठाउन म्यासेज गरेपछि एक व्यक्तिले उत्तर समेत पठाएको देखिन्छ।
गत वैशाख १४ गते कक्षा १२ को परीक्षा पत्र पनि यसैगरी ‘आउट’ भएको थियो। परीक्षा सुरु हुनुभन्दा ९ मिनेट अगाडि नै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको थियो। यस्ता घटनामा विद्यालयका शिक्षक, विद्यार्थीदेखि अन्यको संलग्नता भएको देखिएको छ। ५ मिनेट अगाडि आउट भएको प्रश्नपत्र सामाजिक सञ्जालमा खोलिएका विभिन्न ग्रुपहरू मार्फत परीक्षार्थीसम्म पुगेको देखिन्छ।
प्रहरीले यी दुई घटनाको डेमो हेर्दा केही फरक देखिएको छ। कक्षा १२ को प्रश्नपत्र परिक्षा केन्द्रसम्म अनलाइन मार्फत प्रिन्ट गरेर विद्षयार्थीलाई परीक्षा केन्द्रमा दिइने गरेको थियो। तर त्रिवीको परिक्षामा भने भौतिक रुपमा नै प्रश्नपत्र परिक्षा केन्द्रसम्म पुग्ने गरेको देखिएको छ।
परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न आइतबार प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ। समितिको सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा छन्।
समितिलाई छानबिन सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।