BIZMANDU
www.bizmandu.com

सात इन्जिनियरलाई कार्बाही गर्दै पूर्वाधार मन्त्रालय, स्पष्टीकरण बुझाउन ३० दिने म्याद

२०८३ साउन १२

सात इन्जिनियरलाई कार्बाही गर्दै पूर्वाधार मन्त्रालय, स्पष्टीकरण बुझाउन ३० दिने म्याद
सात इन्जिनियरलाई कार्बाही गर्दै पूर्वाधार मन्त्रालय, स्पष्टीकरण बुझाउन ३० दिने म्याद


काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले काममा नफर्किएका सात जना इन्जिनियरलाई कार्बाही प्रक्रिया अघि बढाएको छ। अध्ययन तथा असाधारण बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभएका उनीहरुसँग ३० दिनभित्र स्पष्टीकरण पेस गर्न पुनः सार्वजनिक सूचना जारी गरिएको हो।

Tata
GBIME

मन्त्रालयले अनुपस्थितिको जायज कारण पेस गर्न मौका दिएका इन्जिनियरहरुमा पुजन न्यौपाने, सृष्टि भुसाल, संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ छन्। इन्जिनियरद्वय पुजन न्यौपाने र सृष्टि भुसालले पेस गरेको सफाइ सन्तोषजनक नभएको भन्दै पुनः माग गरिएको छ।

इन्जिनियरहरू संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठले तोकिएको समयावधिभित्र सफाइ नै पेस नगरेको मन्त्रालयले जनाएको छ। इन्जिनियर पदमेन्द्रप्रसाद बिदा स्वीकृत नगराई अनुपस्थित रहेका हुन् भने अन्य इन्जिनियरहरू बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभएका हुन्।

मन्त्रालयअन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका रा.प.तृतीय श्रेणीमा कार्यरत कर्मचारीहरूले तोकिएको समयमा सफाइ पेस नगरेको वा पेस गरेको सफाइ पनि सन्तोषजनक नभएपछि कारबाहीको प्रक्रिया अघि बढाइएको मन्त्रालयले मंगलबार जनाएको हो।

यसअघि मन्त्रालयले गत असार २३ मा सूचना जारी गर्दै १५ दिनभित्र मनासिब कारणसहित सफाइ पेस गर्न भनेको थियो। उक्त समयावधिमा सफाइ पेस नगरेका र पेस गरेको सफाइ पनि पर्याप्त नभएका कारण निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिमको कसुरमा कारबाही किन नगर्ने भन्दै निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (ख) बमोजिम अन्तिम पटक स्पष्टीकरण माग गरिएको छ।

तोकिएको अवधिभित्र सन्तोषजनक स्पष्टीकरण पेस नगरेमा निजामती सेवा ऐन बमोजिम विभागीय कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।