BIZMANDU
www.bizmandu.com

उत्पादनमूलक उद्योगका ३ दर्जन उद्योगी भेट्दै अर्थमन्त्री, समस्या सुनेर सम्बोधन गर्ने तयारी

२०८३ साउन ११

उत्पादनमूलक उद्योगका ३ दर्जन उद्योगी भेट्दै अर्थमन्त्री, समस्या सुनेर सम्बोधन गर्ने तयारी
उत्पादनमूलक उद्योगका ३ दर्जन उद्योगी भेट्दै अर्थमन्त्री, समस्या सुनेर सम्बोधन गर्ने तयारी


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार ३ दर्जन उद्योगीलाई एकसाथ भेट्ने भएका छन्।

Tata
GBIME

उत्पादनमूलक उद्योग चलाइरहेका ठूला उद्योगीहरुसँग मन्त्रालयमा छलफल गर्ने र उनीहरुले उठाएका विषय सम्बोधन गर्नका लागि कमिटी बनाउने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षको बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव र बजेट कार्यान्वयनका लागि उद्योग तथा सरकारले गर्नुपर्ने समन्वयका बारेमा छलफल केन्द्रित हुने जनाइएको छ।

मन्त्रालयले प्रत्येक उद्योगीलाई लिखित समस्या ल्याउन भनेको छ। त्यसलाई अध्ययन गरेर कार्यान्वयनका लागि मन्त्रालयले थप कार्यनीति बनाउने भएको छ।

‘विशेषगरी बजेटले ल्याएको नीति कार्यान्वयनको समन्वयमा छलफल हुनेछ। यसका लागि प्रत्येक उद्योगीको राय लिइने र समाधानका लागि मन्त्रालयले कमिटी नै बनाउने तयारी छ,’ मन्त्रालय स्रोतले भन्यो।

अर्घाखाँची, घोराही, शिवम् लगायत ठूला सिमन्ट उद्योग, जगदम्बा, पञ्चकन्या, अम्बेलगायत छड उद्योगीहरूलाई बोलाइएको छ।

त्यस्तै, चौधरी ग्रुप, लक्ष्मी ग्रुपलगायत लगभग सबै ठूला उद्योग चलाउनेहरुका प्रतिनिधिहरुलाई अर्थमन्त्रीले निम्तो दिएका छन्। डाबर, युनिलिभरलगायत बहुराष्ट्रिय कम्पनीलाई पनि बोलाइएको छ।

व्यवसायीहरुका छाता संगठनमार्फत भेट्दा मोटा र नीतिगत विषय बढी आउने भएकाले अर्थमन्त्री वाग्लेले उद्योगीहरुलाई व्यक्तिगत रुपमै भेट्ने पहल गरेका छन्।

स्रोतले भन्यो, ‘छाता संगठन बोलाउँदा ठूला विषय उठ्ने तर खास उद्योगीका मुद्दा ज्यूँकात्यूँ रहने भएकाले प्रत्येक उद्योगीसँग ससाना विषयमा छलफल गरिने छ।’

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरूसँग छलफल गरेका थिए।