काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाएका वस्तु विक्री नगर्न सचेत गराएको छ।
विभागले प्रतिबन्ध लगाएका वस्तु भौतिक तथा डिजिटल माध्यमबाट विक्री गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।
प्रतिबन्धित वस्तु भौतिक र डिजिटल प्लेटफर्मको माध्यमबाट विक्री भइरहेको उजुरी प्राप्त भएपछि विभागले सूचना निकालेर कारबाहीको चेतावनी दिएको हो।
विभागले सोमबार सूचना जारी गरी सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर प्रतिबन्ध लगाएका वस्तु अनधिकृत रुपमा पैठारी, भण्डार तथा विक्री वितरण गर्ने कार्य दण्डनीय भएको बताएको छ।
‘प्रतिबन्ध लगाएका वस्तु अनधिकृतरुपमा पैठारी, भण्डारण तथा विक्री–वितरण गर्ने कार्य कानुनबमोजिम दण्डनीय रहेकाले सबै पैठारीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई कानुनले तोकेका दायित्व, सर्त तथा बन्देजको पूर्ण पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरिएको छ,’ विभागले सूचनामा भनेको छ, ‘कानुन विपरीतका कार्य भएमा निकासी पैठारी ऐन २०१३, उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने सबैमा जानकारी गराइन्छ।’