काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा दरखास्त आह्वान गरेको छ। कम्पनीले सोमबार सूचना जारी गर्दै योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकबाट चार वर्षको करार सेवाका लागि आवेदन मागेको हो।
आवेदन दिनेले इलेक्ट्रिकल, मेकानिकल, सिभिल इन्जिनियरिङ वा व्यवसाय प्रशासनमा स्नातकोत्तर गरी कम्तीमा १० वर्ष वा सोही इन्जिनियरिङ विषयमा स्नातक गरी कम्तीमा १२ वर्षको व्यावसायिक अनुभव हासिल गरेको हुनुपर्नेछ।
जलविद्युत् आयोजना निर्माणमा अधिकृत वा सोभन्दा माथिल्लो पदमा कार्य गरेको वा जलविद्युत् कम्पनीको सीइओ, कार्यालय प्रमुख वा वरिष्ठ व्यवस्थापकीय तहमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको काठमाडौंको धुम्बाराहीस्थित कार्यालयमा वा इमेलमार्फत आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको यो कम्पनी चिलिमे हाइड्रोपावरको सहायक कम्पनी हो। सीइओ सत्यराम ज्याख्व विद्युत प्राधिकरणमा काज फिर्ता भएपछि रसुवागढीमा निमित्त सीइओको जिम्मेवारी आयोजनाको सिभिल निर्माण महाशाखा प्रमुख पुष्कर अमात्यलाई तोकिएको छ।