काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सेयर बजारमा लगानीका थप उपकरण सञ्चालन गर्न पूर्वाधार तयारीको काम अघि बढाएको छ।
सेबोनले आर्थिक वर्ष २०८३/८४ को नीतिमार्फत सञ्चालनमा ल्याउने बताएको इन्ट्राडे, सर्टसेलिङ, सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ (एसइबी) र अक्सन मार्केटका लागि कार्ययोजना बनाएर काम थालेको हो।
लगानीका नयाँ उपकरण सञ्चालनमा ल्याउन समय सीमासहित कार्ययोजना बनाएर सेबोनका विभिन्न विभागले काम थालेका छन्।
‘बजेटमै घोषणा गरिएको भएर इन्ट्राडे र सर्टसेलिङलाई प्राथमिकता राखेर काम भइरहेको छ। अध्यक्षज्यूले पनि त्यसमै केन्द्रित हुन भन्नु भएको छ,’ सेबोनका एक अधिकृतले भने, ‘हामीले नीतिमा घोषणा गरेका विषय कार्यान्वयनका लागि समय सीमासहितको कार्ययोजना बनाएका छौं। यसमा विभिन्न विभागले आफ्नो क्षेत्रको काम गरिरहनु भएको छ। एक चरणमा पुगेपछि मस्यौदा तयार पारेर सुझाव माग गर्नेछौं।’
सेबोन अध्यक्ष डा.गोपाल भट्ट इन्ट्राडे र सर्टसेलिङ जतिसक्दो छिटो सञ्चालन गर्ने पक्षमा छन्। उनले केही दिनअघि प्रतिनिधि सभाको अर्थ समितिमा तीन महिनाभित्रै इन्ट्राडे, सर्टसेलिङसहितका उपकरण ल्याउने बताएका थिए।
सेयर बजारमा लगानीका थप उपकरण सञ्चालनका लागि कानुन संशोधन गर्नुपर्नेछ। यसका साथै कारोबार सञ्चालनका लागि नेपाल स्टक एक्सचेन्जमा प्रणाली तयार गर्नुपर्छ।
नेप्सेले २०७७ मा गरेको अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययनले धितोपत्र सम्बन्धी ऐन र नियमावलीमा संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ ले सेयर कारोबार हुँदा पनि वास्तविक स्वामित्वमा फरक नपर्ने भए झुटो कारोबार भनेको छ। इन्ट्राडे कारोबार सञ्चालन गर्न ऐनमा भएको यस्तो व्यवस्थालाई स्पष्ट पार्नुपर्ने नेप्सेले २०७७ मा तयार पारेको प्रतिवेदनमा उल्लेख छ।
त्यसबाहेक बजारमा नयाँ उपकरण सञ्चालन गर्न धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, कारोबार सञ्चालन विनियमावली, धितोपत्र राफसाफ तथा फर्स्यौट विनियमावलीमा भएका व्यवस्था संशोधन गर्नुपर्छ। ऐन संशोधनको मस्यौदा यसअघि सरकारले प्रतिनिधि सभामा पेस गरेकामा संसद विघटनपटि निष्कृय भएको थियो।
सरकारले अहिले धितोपत्र सम्बन्धी ऐन संशोधनका लागि आन्तरिक तयारी गरिरहेको छ।
बजार विश्लेषक अनलराज भट्टराई मार्केट प्लेयरको हिसाबले लगानीकर्ता तयार देखिएकाले उपकरण सञ्चालनमा सरकारले इनिसियसन लिनुपर्ने बताउँछन्।
‘मार्केट प्लेयर डेभलप भइसकेका छन्। बजारमा अहिले २० लाखभन्दा बढी सक्रिय कारोबारी छन्। उनीहरुले लगानीका लागि नयाँ ठाउँ खोजिरहेका छन्,’ उनले भने, ‘सरकारले इनिसियसन लिएर कानुन संशोधनको काम फास्ट ट्र्याबाटै गर्न सक्छ। बजारलाई डाइभर्सिफाइड बनाउन अति आवश्यक भइसकेको छ।’
सेयर बजारमा अहिले लगानीकर्ताले नेप्से बढेपछि मात्रै नाफा कमाउन सक्छन्। बजारमा लगानीकर्ताले सर्टसेलिङबाट आफूसँग नभएको सेयर बेच्ने वा किन्ने गरेर एकै दिनमा सेटल गर्न सक्छन्। इन्ट्राडेले लगानीकर्तालाई एकैदिन सेयर किनबेचको उपकरण उपलब्ध गराउँछ।
यस प्रकारका उपकरण सञ्चालन गर्दा जोखिम लिनसक्ने लगानीकर्ताले घटेको बजारमा पनि नाफा कमाउन सक्छन्। लगानीकर्ताले सर्टसेलिङ र इन्ट्राडेमा गर्ने कारोबारमार्फत सिर्जना हुने दायित्व सेक्युरिटी लेण्डिङ एण्ड बोरोइङ र अक्सन मार्केटबाट पूरा गर्न सक्छन्।
सेक्युरिटी लेण्डिङ एण्ड बरोइङमार्फत सेयर भएका लगानीकर्ताहरुले आफूले कारोबार नगरेपनि ब्याज लिएर ऋणको रुपमा सेयर उपलब्ध गराएर कमाउन सक्ने विश्लेषकहरु बताउँछन्। आफूसँग सेयर नभएकाहरुले यही प्लेर्टफमार्फत सेयर ऋण लिएर सर्टसेलिङमा सिर्जना हुने दायित्व पूरा गर्न सक्छन्।
इन्ट्राडे र सर्टसेलिङका लागि सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ र अक्सनमार्केट उपकरण अनिवार्य मानिन्छ। इन्ट्राडे कारोबार सञ्चालन गरेका भारत लगायत देशका स्टक एक्सचेन्जले सेक्युरिटी लेण्डिङ एण्ड बरोइङसँगै अक्सन मार्केट, सेन्टर काउन्टर पार्टी सञ्चालन गरिरहेका छन्।
जानकारहरुका अनुसार बजारमा यी पूर्वाधार तयार नभइ इन्ट्राडे कारोबार सम्भव हुँदैन। इन्ट्राडेमा लगानीकर्ताको कारोबार एक दिनमा सीमित हुन्छ।
इन्ट्राडे, सर्टसेलिङ, अक्सनमार्केट सञ्चालन गरेका स्टक एक्सचेन्जहरुमा कारोबारका लागि इन्डेक्स जस्तै ठूलो मार्केट अर्कोतिर सिर्जना हुने गरेको विश्लेषकहरु बताउँछन्। यसले लगानीकर्तालाई लगानीको व्यापक छनोटको उपकरण, कारोबारको आकार र तरलता बढाउँछ।
उनीहरुले एक दिनभित्रै सस्तो मूल्यमा धितोपत्र किन्ने र महँगोमा बिक्री गर्ने वा महँगोमा बिक्री गरेपछि सस्तोमा खरिद गरेर नाफा कमाउन सक्छन्। लगानीकर्ताले यस प्रकारको दायित्व पूरा गर्न केही रकम ब्याज तिरेर सेयर ऋण लिन्छ। जसका लागि सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ उपकरण चाहिन्छ।