BIZMANDU
www.bizmandu.com

हिरोको ‘भिडा’ ब्रान्ड नेपाली बजारमा भित्रियो, पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा छनोट

२०८३ साउन १०

हिरोको ‘भिडा’ ब्रान्ड नेपाली बजारमा भित्रियो, पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा छनोट
हिरोको ‘भिडा’ ब्रान्ड नेपाली बजारमा भित्रियो, पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा छनोट


काठमाडौं। हिरो मोटोकर्पको विद्युतीय दुई पाङ्ग्रे ब्रान्ड भिडा नेपाली बजारमा भित्रिएको छ। सीजी ग्रुपअन्तर्गतको सीजी मोटर्सले आइतबार एक समारोहबिच भिडा सार्वजनिक गरेको हो।

Tata
GBIME

हिरो मोटोकर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भान र सीजी ग्रुपका अध्यक्ष विनोद चौधरीले भिडा सार्वजनिक गरेका हुन। हिरोले भारतबाहिर पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपाललाई छनोट गरेको हो।

कार्यक्रममा हिरो मोटोकर्पका कार्यकारी उपाध्यक्ष भानले नेपाल भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरुवात भएको बताए। उनका अनुसार विद्युतीय सवारीसाधनतर्फ तीव्र गतिमा अघि बढिरहेकाले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय गन्तव्य बनाइएको हो।

उनले हालसम्म भिडाका करिब ३ लाख स्कुटर तथा मोटरसाइकल सडकमा सञ्चालनमा रहेको बताए। साथै उनले नेपालले पनि विद्युतीय सवारीसाधनको प्रयोगमा उल्लेखनीय फड्को मारेको बताए। काठमाडौंमा कुद्ने हरेक दोस्रो कार धेरैले विद्युतीय सवारी रोज्न थालेको उल्लेख गर्दै उनले त्यसलाई निकै सकारात्मक परिवर्तनको रूपमा व्याख्या गरे।

भानले सिजी समूहले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउँदै आएको उल्लेख गर्दै हिरोले नेपाललाई आफ्नो ग्लोबल रणनीतिक बजारका रूपमा छनोट गर्नु नेपाली बजारको सम्भावना र महत्त्वको प्रमाण भएको बताए। विश्वमा विद्युतीय गतिशीलताको उदाहरणका रूपमा नर्वेको चर्चा हुने गरे पनि पछिल्लो समय नेपालले पनि यस क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको उनको भनाइ छ।

सिजी मोटर्ससँग विगत दुई वर्षदेखि भएको सहकार्यलाई ऐतिहासिक र परिवर्तनकारी भन्दै उनले विनोद चौधरी, निर्वाण चौधरी तथा सम्पूर्ण चौधरी परिवारप्रति विशेष धन्यवाद व्यक्त गरे।

त्यसै गरी सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले केही वर्ष अघिसम्म नेपालमा विद्युतीय सवारीको हिस्सा १ प्रतिशतभन्दा कम रहेको स्मरण गराउँदै अहिले नेपाल विश्वमै विद्युतीय सवारीको सबैभन्दा तीव्र रूपमा बढ्दो बजार बनेको बताए। उनका अनुसार गत वर्ष प्रकाशित न्युयोर्क टाइम्सको विश्लेषणले पनि नेपाललाई विद्युतीय सवारीको प्रयोग सबैभन्दा छिटो बढिरहेको देशका रूपमा उल्लेख गरेको थियो।

चौधरीले हाल नेपालमा नयाँ सवारी बिक्रीमध्ये ८० देखि ८२ प्रतिशत हिस्सा विद्युतीय सवारीले ओगटेको दाबी गर्दै यो उपलब्धि नर्वेपछिको दोस्रो उच्च दर भएको बताए। सरकारको नीतिगत सहयोग र प्रविधिमैत्री वातावरणका कारण यस्तो सफलता सम्भव भएको उनको भनाइ थियो।

उनका अनुसार सिजी मोटर्सले पछिल्लो दुई वर्षमा करिब १५ प्रतिशत बजार हिस्सा हासिल गरिसकेको छ। हिरोले विडा ब्रान्डको पहिलो अन्तर्राष्ट्रिय लन्चका लागि नेपाल छनोट गर्नु सिजी र हिरोबिचको विश्वासको परिणाम भएको उनले बताए।

चौधरीले सिजीसँग नबिल बैंक, माइक्रो इन्स्योरेन्स तथा देशभर रहेका १०० भन्दा बढी डिलर र शोरुमको बलियो इकोसिस्टम रहेको उल्लेख गर्दै आगामी दिनमा ग्राहकले विडा स्कुटर सहज रूपमा खरिद गरी घरमै डेलिभरी पाउने व्यवस्था गर्ने लक्ष्य रहेको जानकारी दिए।

नेपालमा विदा ब्रान्डअन्तर्गत पहिलो चरणमा भिडा भिएक्स टु र टु प्लस स्कुटर सार्वजनिक गरिएको छ। 

भिडा भिएक्स टुको मूल्य २ लाख ९९ हजार ९०० राखिएको छ। यस्तै भिडा भिएक्स टु प्लसको ३ लाख ९९ हजार ९०० राखिएको छ।

टप भेरियन्टमा ४.४ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एक पटक पूर्ण चार्जमा १४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

स्कुटरमा ४० वटा स्मार्ट कनेक्टेड फिचर समावेश गरिएको छ। यसको अर्को विशेषता भनेको रिमुभेबल (निकाल्न मिल्ने) ब्याट्री हो। ब्याट्रीलाई स्कुटरबाट निकालेर घर, कार्यालय वा अन्य स्थानमा सजिलै चार्ज गर्न सकिने भएकाले चार्जिङ स्टेसनमा निर्भर रहनुपर्ने आवश्यकता कम हुने कम्पनीले जनाएको छ।

यससँगै हिरोले भिडा डर्ट ईके थ्री नामक विद्युतीय डर्ट बाइक पनि नेपालमा सार्वजनिक गरेको छ। विशेष गरी बालबालिकालाई लक्षित गरी ल्याइएको यो डर्ट बाइकले नयाँ पुस्तालाई सुरक्षित र वातावरणमैत्री अफ-रोड राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ। यसको मूल्य १ लाख ९९ हजार ९०० राखिएको छ।