BIZMANDU
www.bizmandu.com

उपत्यकामा ३ वटा एलिभेटेड हाइवे निर्माण गर्न प्रस्ताव, १ खर्ब १० अर्बसम्म खर्च हुने

२०८३ साउन १०

उपत्यकामा ३ वटा एलिभेटेड हाइवे निर्माण गर्न प्रस्ताव, १ खर्ब १० अर्बसम्म खर्च हुने
उपत्यकामा ३ वटा एलिभेटेड हाइवे निर्माण गर्न प्रस्ताव, १ खर्ब १० अर्बसम्म खर्च हुने


काठमाडौं। उपत्यकाको सडक सञ्जाल सुधारका लागि ३ वटा एलिभेटेड हाइवे निर्माण गर्न प्रस्ताव गरिएको छ।

Tata
GBIME

उपत्यकाको यातायात प्रणाली सुधार गर्न ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’अन्तर्गत त्रिपुरेश्वर-थापाथली-माइतीघर, चाबहिल-बागमती र विष्णुमती नदी करिडोरमा एलिभेटेड हाइवे निर्माण गर्न प्रस्ताव गरिएको हो।

पूर्वाधार विकास मन्त्रालय र जाइकाले तयार पारेको मास्टर प्लान अनुसार तीनवटा एलिभेटेड हाइवे निर्माण गर्न १ खर्ब १० अर्ब रुपैयाँसम्म लाग्ने अनुमान गरिएको छ।

एलिभेटेड हाइवे खासगरी जमिनमाथि पिलरको सहारामा निर्माण गरिने सडक हो। ट्राफिक व्यवस्थापन, सीमित जमिन र शहरी विकासलाई ध्यानमा राखेर एलिभेटेड हाइवे बनाइन्छ।

घना बस्ती वा व्यापारिक क्षेत्रमा सडक फराकिलो बनाउनका लागि जग्गा अधिग्रहण सहज हुँदैन। अधिग्रहण र क्षतिपूर्तिमा धेरै खर्च हुन्छ। एलिभेटेड हाइवेका लागि जमिन धेरै चाहिंदैन।

साथै एलिभेटेड हाइवेमा सामान्यतया चोक वा ट्राफिक बत्ती हुँदैन। यसले यात्रा समय छोट्याउँछ र इन्धन खपत पनि कम हुन्छ।

त्रिपुरेश्वर-थापाथली-माइतीघर १.४२ किलोमिटर लामो एलिभेटेड हाइवे

त्रिपुरेश्वर-थापाथली-माइतीघर खण्डमा सवारी चाप कम गर्न १.४२ किलोमिटर लामो एलिभेटेड हाइवे निर्माण गर्न प्रस्ताव गरिएको छ। यहाँ एलिभेटेड हाइवे बनाउन १३ अर्ब २९ करोड रुपैयाँ लाग्ने अनुमान छ।

माइतीघर चोक जटिल सडक संरचना र अत्यधिक सवारीका कारण लामो समयदेखि ट्राफिक जामको समस्याबाट प्रभावित रहेकाले एलिभेटेड हाइवे बनाउन प्रस्ताव गरेको पूर्वाधार विकास मन्त्रालयका अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार एलिभेटेड हाइवे निर्माण भएको अवस्थामा माइतीघर-थापाथली क्षेत्रमा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार हुनेछ।

चाबहिल-बागमतीमा ३.४ किलोमिटर लामो दुई लेन

चाबहिल-बागमतीमा ३.४ किलोमिटर लामो दुई लेनको एलिभेटेड हाइवे बनाउन प्रस्ताव गरिएको छ। काठमाडौं उपत्यकाको पूर्वी क्षेत्रमा बढ्‌दो सवारी चाप व्यवस्थापन गर्न चाबहिलदेखि बागमती नदीसम्म एलिभेटेड हाइवे निर्माण गर्ने प्रस्ताव गरिएको हो।

यो क्षेत्र विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपा नजिक पर्ने भएकाले निर्माणअघि अनिवार्य रूपमा हेरिटेज इम्प्याक्ट असेस्मेन्ट गर्नुपर्नेछ। साथै ट्राफिक व्यवस्थापनका लागि जोरपाटी चोकमा चाबहिलतर्फ एकतर्फी अन-ऱ्याम्प निर्माण गर्न प्रस्ताव गरिएको छ।

यसका लागि जग्गा अधिग्रहण कम गर्न एलिभेटेड सडकका अन-ऱ्याम्प र अफ-याम्प दुवै छेउमा फरक-फरक स्थानमा निर्माण गर्न सुझाव दिइएको छ। यहाँ एलिभेटेड हाइवे बनाउन २४ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान छ।

विष्णुमती नदी करिडोरमा ४ लेनको एलिभेटेड हाइवे

उपत्यकाको उत्तर-पश्चिम क्षेत्रमा बढ्‌दो ट्राफिक चाप व्यवस्थापन गर्न विष्णुमती नदी करिडोरमा एलिभेटेड हाइवेको अवधारणामा बलाजु-माछापोखरी जोड्ने ४ लेन सडक प्रस्ताव गरिएको छ।

यहाँ ३.६२ किलोमिटर लामो एलिभेटेड हाइवे बनाउन प्रस्ताव गरिएको हो। यो एलिभेटेड हाइवे २/२ लेनको हुनेछ। प्रत्येक क्यारिज वेको चौडाइ ७ मिटर र राइट अफ वे एकातर्फ १०.७ मिटरको हुनेछ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी किनारबाट २० मिटरको दूरी कायम गरेर मात्र संरचना निर्माण गर्न प्रस्ताव गरिएको छ।

बालाजु माच्छापोखरी क्षेत्रमा जग्गा अधिग्रहण कम गर्न अन-ऱ्याम्प र अफ-ऱ्याम्प फरक-फरक स्थानमा निर्माण गर्ने अवधारणा अघि सारिएको छ।

पहिलो विकल्पमा नदीको दुवै किनारामा ग्यान्ट्री हुने भनिएको छ जुन सबैभन्दा महँगो र निर्माण अवधि लामो हुने विकल्प हो। दोस्रो विकल्पमा नदीको चौडाइअनुसार फरक डिजाइन गर्ने भनिएको छ। यसको लागत र निर्माण अवधि केही घट्ने हुन्छ।

यसैगरी तेस्रो विकल्पमा नदीको एकातर्फ मात्रै संरचना राख्ने योजना छ। यो सबैभन्दा कम लागतमा छिटो निर्माण हुन्छ। यहाँ एलिभेटेड हाइवे बनाउन ४२ देखि ७२ अर्ब रुपैयाँसम्म खर्च हुने अनुमान छ।