काठमाडौं। सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि सशस्त्र प्रहरी बलले ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन गरेको छ।
आइतबारदेखि सीमा इलाकाको मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुना र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा एक ठाउँमा १४ जना रहने गरी टोली परिचालन गरिएको हो।
उक्त क्षेत्रमा रहेको सशस्त्रको सीमा सुरक्षा गुल्ममा तैनाथ रही टोली सीमाको मुख्य नाकाहरूमा परिचालन हुनेछन्।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रुपन्देहीको डण्डामा रहेको सीमा सुरक्षा गुल्ममा पुगी टोलीलाई परिचालनको घोषणा गर्नुका साथै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापका बारेमा समेत जानकारी लिएका थिए।
टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र वृद्धवृद्धाहरुको सहजीकरण, मानव बेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागूऔषध, वन्यजन्तु लगायतका सामाग्रीहरूको निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाइका साथ काम गर्नेछ।
मुख्य सीमा नाकाहरूमा परिचालन हुने टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोसाक (सफारी सुट)मा रहने छन्। सशस्त्र प्रहरीले जिम्मा पाएको काममा यो कदम नयाँ भने होइन। पुरानै कामलाई नयाँ नाम दिइएको हो।
सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा गुल्म र बेसहरुले पहिले पनि यो काम गर्दै आएका हुन्। अवैध ओसारपसारका लागि बदनाम नाकाहरुमा भने सशस्त्रले रोकथामको नयाँ रणनीति अपनाउनुपर्ने खाँचो छ।