BIZMANDU
www.bizmandu.com

ओलीले सुरुङमार्ग शिलान्यास गर्दाको शिलालेख हरायो, आयोजनामा उद्घाटनको मात्रै, नियोजित की लापर्बाही?

२०८३ साउन १०

ओलीले सुरुङमार्ग शिलान्यास गर्दाको शिलालेख हरायो, आयोजनामा उद्घाटनको मात्रै, नियोजित की लापर्बाही?
ओलीले सुरुङमार्ग शिलान्यास गर्दाको शिलालेख हरायो, आयोजनामा उद्घाटनको मात्रै, नियोजित की लापर्बाही?


काठमाडौं। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा शिलान्यास गरेको नागढुंगा-नौबिसे सुरुङमार्गको शिलालेख हटाइएको विषयमा अहिले सामाजिक सञ्जाल तातेको छ।

Tata
GBIME

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन।

उनले सुरुङमार्गको शिलान्यास शिलालेखबाट केपी ओलीको नाम हटाइनु सरकारको निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति भएको उल्लेख गरेका छन्।

पोखरेलले फेसबुकमा लेख्नुअघि नै सामाजिक सञ्जालमा शिलालेखबाट नाम मेटिएको विषयमा आलोचना भइरहेको थियो। शिलान्यासको शिलालेख अहिले उपलब्ध नरहे पनि सोमबार उद्‍घाटन गर्नका लागि नयाँ शिलालेख बनाइएको छ।

अहिलेको शिलालेख काठमाडौंबाट धादिङतर्फ जाने पोर्टलको दाहिनेतर्फ राखिएको छ। पूर्वप्रधानमन्त्री ओलीले शिलान्यास गर्दाको शिलालेख कहाँ गयो त?

नागढुंगा-नौबिसे सुरुङमार्गका आयोजना प्रमुख सौजन्य नेपालले निर्माण कम्पनीले संरचना बनाउँदा झिकेको जानकारी आएको बताए।

‘शिलालेखबारे सोधीखोजी गर्दा निर्माण कम्पनीले त्यहींनेर संरचना बनाउनुपर्ने भएकाले झिकेको रहेछ। त्यो झिकेर राखेको शिलालेखको खोजी भइरहेको छ,’ उनले बिजमाण्डूसँग भने, ‘नियतवश शिलालेख झिकिएको होइन। माथिबाट निर्देशन आएको पनि छैन।’

उनका अनुसार सुरुङ मार्गका लागि भवन बनाउँदा शिलालेख झिकिएको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालयले ओलीको नाम मेट्न वा शिलालेख झिक्न कुनै निर्देशन नदिएको दाबी गरेको छ।

‘हामीले त्यसरी शिलालेख वा शिलालेखमा भएको ओलीको नाम हटाउन कुनै पनि निर्देशन जारी गरेका छैनौं,’ लम्सालको सचिवालयले बिजमाण्डूसँग भन्यो, ‘हामीलाई शिलालेख कहाँ थियो भन्नेसम्म जानकारी छैन। भोलिका लागि नयाँ बनाइएको छ। त्यही मात्रै छ। पुरानो शिलालेख कता थियो पछि कता गयो भन्ने यकिन छैन। खोज्न भनिएको छ।’

गम्भीर लापर्बाही

कुनै पनि निर्माणाधीन आयोजनाको शिलालेख हराउनु सामान्य विषय होइन। निर्माण कम्पनीले समेत शिलालेखलाई जथाभावी रुपमा हटाउन सक्दैन। कम्पनीले आयोजना प्रमुख वा सम्बन्धित मन्त्रालयलाई सोधेर मात्रै त्यसलाई झिक्न सक्छ।

सुरुङमार्ग बनाउन जापान सरकारले ऋण सहयोग गरेकाले शिलान्यासको अवसरमा नेपालका लागि जापानका राजदूत समेत सहभागी भएका थिए। ‘यसलाई सामान्य रुपमा हेरिनु हुँदैन। त्यहाँ भएको शिलालेख कहिले हटाइयो? कसरी हटाइयो ?,’ पूर्वाधार मन्त्रालयकै एक अधिकारीले भने, ‘निर्माण कम्पनीले आयोजना प्रमुखलाई जानकारी नदिई हटाएको हो भने अझ गम्भीर विषय हो।’

उनले अन्य देशमा समेत पूर्वाधार आयोजना निर्माण हुँदाको शिलालेख हराउने गरेको घटना आफूले नसुनेको बताए। ‘सबै हेर्दा लापर्बाही मात्र होइन, नियोजित होकी जस्तो आशंका छ,’ ती अधिकारीले भने।