काठमाडौं। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भेटिएकामध्ये अझै पनि सात वटा शवको पहिचान हुन सकेको छैन। भाटभटेनी सुपर मार्केटको भवनमा भेटिएका केही शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जानकारी दिइएको छ।
नेपालमा उपलब्ध विभिन्न प्रविधिहरू ल्याबबाट पनि पहिचान नभएको हो। त्यस्तै विदेशमा मध्ये युरोपमा पहिचान गर्ने प्रविधि भएको जानकारी पाए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढाउन सकिएको छैन। सानो परिमाणमा जलेका शरीरको केही भाग मात्र भएकाले झन् पहिचानमा समस्या परेको हो।
‘केहीको हड्डीभित्रको बोन म्यारो जस्तो मात्र पनि छ। त्यसैले पहिचान गर्न यहाँ प्रविधिबाट समय लागेको हो,’जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराइले भने।
प्रदर्शनमा ४९ जनाको शव प्रहरीले प्राप्त गरेको थियो। जसमध्ये ४२ जनाको पहिचान खुलेर जाहेरी दरखास्त समेत आइसकेको छ। जेनजी आन्दोलनमा ४२ वटा ज्यान सम्बन्धी मुद्दा दायर भएर अनुसन्धान प्रारम्भ भएको छ।
पहिचान नभएका ७ वटा शवमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। सोही समयमा हराएका व्यक्तिको उजुरी, व्यक्तिगत विवरण र अन्य सम्भावित सूचनालाई केलाएर पहिचान नभएका शवहरूसँग भिडाएर अनुसन्धान पनि भएको छ।
‘ती केही शव र हराएको विवरण र अन्य कुरा भिड्न पनि आएको छ। तर अहिले नै उहाँहरूको हो भनेर शव दिने अवस्था छैन। भोलि अर्को मानिस दाबी गर्न आए के गर्ने? ‘एक अनुसन्धान अधिकृतले सुनाए।
भाद्र २३ गतेको घटनामा प्रहरीमा ९ वटा जाहेरी परेका छन्। जसमा तीन जाहेरीलाई तामेलीमा राखिएको हो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको जाहेरी भने मन्त्रिपरिषद्को निर्णय अनुसार जगाएर अनुसन्धान थालिएको हो।
त्यसै क्रममा गत चैत १३ गते ओली र लेखक समातिएका थिए। तर अदालतको आदेशमा चैत २३ गते हाजिरी जमानीमा रिहा भएका थिए। तर अहिले अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ। व्यक्ति रिहा भएपछि तत्काल नै मुद्दा दर्ता गर्ने प्रेसर नहुँदा प्रहरीले हदम्यादलाई हेरेर अनुसन्धान गरिरहेको छ।