डढेलोको कारण फ्रान्स र स्पेनमा ठूलो संख्यामा मानिसहरु विस्थापित भएका छन्। आगलागी नियन्त्रणमा लिन अग्नि नियन्त्रकसँगै सेना समेत परिचालन गरिएको छ।
डढेलो द्रुत गतिमा फ्रान्सको बोर्डो शहरतर्फ फैलिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। आगलागी नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरुलाई निकै गाह्रो भइरहेको बताइन्छ।
स्थानीय अधिकारीहरुका अनुसार स्थिति अझै नियन्त्रण बाहिर छ। अत्यधिक गर्मी र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा लगातार फैलिरहेको डढेलोका कारण हालसम्म ३ लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्।
फ्रान्सका जिरोन्ड र ल्यान्ड्स क्षेत्रबाट मात्रै थप ५५ हजार मानिसलाई सुरक्षित स्थलतर्फ सर्न भनिएको छ। सो क्षेत्रबाट मात्र विस्थापित हुनेको संख्या साढे २ लाख पुगेको बताइन्छ।
फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोनले विपदका कारण भएको क्षति पुन:निर्माणमा सरकार लाग्ने बताएका छन्। उनले अवस्था नियन्त्रणमा लिन सेना समेत परिचालन गरेको बताएका छन्।
स्पेनले भने डढेलो फैलिरहँदा आपतकाल घोषणा गरेको छ। मड्रिड वरपरको क्षेत्रमा मौसममा आएको परिवर्तनले अग्नि नियन्त्रकहरूलाई केही राहत मिलेको बताइन्छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आउने दिनहरु अझै चुनौतीपूर्ण रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
यसैबीच, भ्यालेन्सियाको मानिसेजमा आगो निभाउने क्रममा गाडीभित्र ७० वर्षका एक वृद्ध मृत भेटिएको पुष्टि भएको छ।