BIZMANDU
www.bizmandu.com

रेलमार्गबाट आयातको सुरुवातमै धक्काः क्रेन भाँचिएपछि ४० कन्टेनर थन्किए, करोडौँको डिटेन्सन जोखिम

२०८३ साउन १०

रेलमार्गबाट आयातको सुरुवातमै धक्काः क्रेन भाँचिएपछि ४० कन्टेनर थन्किए, करोडौँको डिटेन्सन जोखिम
रेलमार्गबाट आयातको सुरुवातमै धक्काः क्रेन भाँचिएपछि ४० कन्टेनर थन्किए, करोडौँको डिटेन्सन जोखिम


विराटनगर। साउन ४ गते विराटनगरको आइसिपीमा समुद्रपारको वस्तु लिएर आइपुगेको कार्गोरेल नेपाल कस्टम यार्ड (एनसीवाई) मै रोकिएको छ। आइसिपी र एनसीवाईको व्यवस्थापन ठेक्कामा लिएको ट्रान्स नेपाल टीआरएस लोजिपार्कको क्रेनले कार्गोरेलबाट कन्टेनर अनलोड गर्दागर्दै क्रेनको टुप्पो नै भाँच्चिएपछि कार्गोरेल त्यही ‘होल्ड’ भएको हो।

Tata
GBIME

यसका कारण कार्गोरेल एनसीवाईमा आइपुगेको छैठौँ दिन शनिबार साँझसम्म त्यहाँबाट फर्कन पाएको छैन। त्यसै गरी सामान भरिएका ४० वटा कन्टेनर पनि एनसीवाईको खुला यार्डमा थन्किएका छन्।

सामान्यतया आयातकर्ताले रेलवे यार्डमा कन्टेनर आइपुगेको पाँचौँ दिन सिपिङ लाइनर (कन्टेनर कम्पनी) लाई रित्तो कन्टेनर बुझाउनैपर्छ। अन्यथा २० फिटे कन्टेनर भए दिनको भारु ५ र ४० फिटे भए भारु ८ हजार डिटेन्सन लाग्छ।

तर ४० फिटे ४० वटा कन्टेनरलाई छैठौँ दिनसम्म पनि एनसीवाईको खुला यार्डमा अलपत्र छाडिएको छ। यसका कारण अब आयातकर्ताले डिटेन्सनको ठूलो रकम डिटेन्सन तिर्नुपर्ने देखिएको छ।

केएल दुगड समूहको स्वस्तिक आयल इन्डस्ट्रीजले ४० कन्टेनर रेपसिड दाना अस्ट्रेलियाबाट एनसीवाईसम्म कार्गोरेलमार्फत् आयात गरेको थियो।

स्वस्तिक आयलले कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड (कनकोर) को मालवाहक रेल (र्‍याक) र निजी क्षेत्रको सबैभन्दा ठूलो कन्टेनर कम्पनी मस्र्कका कन्टेनरमा १ हजार ७० टन रेपसिड दाना आयात गरेको थियो।

जसअनुसार एक कन्टनेरमा २६ देखि २७ टन दाना लोड गरिएको छ। त्यस्तै ४० फिटको कन्टेनर ४ टनको हुने गर्छ। यसरी लोडेड एक कन्टेनर ३० देखि ३१ टनको छ।

तर ट्रान्स नेपालले २० टन क्षमताको क्रेनले र्‍याकबाट ३० देखि ३१ टनको कन्टेनर अनलोड गर्न थालेपछि त्यसको टुप्पो भाँच्चिएको त्यहाँका एक कर्मचारीले बताए।

ट्रान्स नेपालका व्यवस्थापक आलम खानले शनिबार बिहान ९ बजेसम्म सबै कन्टेनर कार्गोरेल (र्‍याक) बाट अनलोड गरेर यार्डमा राखिएको बताए।

खानले र्‍याकलाई पनि छिटै फिर्ता पठाइने जिकिर गरे।

ट्रान्स नेपालका अर्का व्यवस्थापक लक्ष्मी सुब्बाले एउटा क्रेन खराब भएपछि कम्पनीले अर्को क्रेनको व्यवस्था गरेको र आइतबारसम्म सबै कार्गोको ह्यान्डलिङ भइसक्ने जानकारी दिए।

व्यवसायीले ट्रान्स नेपालले एनसीवाईमा कार्गो ह्यान्डलिङ र लोडिङ अनलोडिङमा कुनै पनि सर्त र बहानामा ढिलो गर्नु नहुने बताएका छन्।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल शाहले एनसीवाईमा पहिलोपटक आएको कन्टेनराइज्ड बल्क कार्गोको व्यवस्थापन गर्न ठेकेदार कम्पनीलाई गाह्रो देखिएको बताए।

‘पहिलोपटक जे भयो भयो, अब भविष्यमा यस्तो हुनुहुँदैन। ट्रान्स नेपालले गरेको ढिलाइका कारणले व्यवसायीले डिटेन्सन र ड्यामरेज शुल्क तिर्नुपर्‍यो भने त्यो ठूलो दुर्भाग्य हुन्छ’, वरिष्ठ उपाध्यक्ष शाहले भने।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माले ट्रान्स नेपालले एनसीवाई र आइसिपीमा कमजोर पर्फम गरेमा व्यवसायी पारिपट्टिको इन्डियन कस्टम यार्ड (आईसीवाई) मा कन्टेनर अनलोड गरेर आयात गर्न बाध्य हुने बताए।

अध्यक्ष शर्माको भनाइ छ, ‘एनसीवाईमा तेस्रो मुलुकबाट आएको कार्गो रेलमार्ग हुँदै कहिले आइपुग्छ भन्ने लामो प्रतीक्षा पूरा भएको छ। तर ट्रान्स नेपालले यसै गरी व्यवस्थापनमा विलम्ब गरिरह्यो र व्यवसायी डिटेन्सनको मारमा परिरहे भने उनीहरू एनसीवाईका सट्टा आईसीवाई रोज्न बाध्य हुनेछन्।’