काठमाडौं। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएको छ।
दुई दलले प्रदेशमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्दै सुशासन, समृद्धि र विकासलाई गति दिने उद्देश्यसहित तीनबुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्।
पछिल्लो समय बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्ने उद्देश्यले यो सहमति गरिएको सहमति पत्रमा उल्लेख छ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व भने नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्ने सहमति भएको छ।
मधेश र गण्डकी प्रदेशमा भने सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गर्ने दुई दलको योजना छ।

दुई दलले जनताको चाहनाअनुसार राजनीतिक स्थिरता कायम गर्दै प्रभावकारी शासन संचालनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। प्रदेश सरकारहरूलाई स्थिर र परिणाममुखी बनाउने लक्ष्यसहित सहकार्य अघि बढाइने पनि सहमतिमा उल्लेख गरिएको छ।
तीनबुँदे सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।