काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–१० बस्ने रूपन्देहीका ५१ वर्षीय राजकुमार भण्डारी र बुढानिलकण्ठ-१२ बस्ने ओखलढुंगाका २९ वर्षीय सुरेश घिमिरे छन्। राजकुमारले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै दुई जनाबाट तीन लाख र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जनाबाट १८ लाख ठगेको आरोप छ।
दुवै पैसा लिएपछि सम्पर्कविहीन भएको भन्ने उजुरी आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले राजकुमारलाई तारकेश्वर-१० र सुरेशलाई कामपा–७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
‘घुमुवा हुँ’ भन्दै पैसा माग्ने पक्राउ
आफूलाई प्रहरीको ‘घुमुवा’ बताएर नक्कली रिभल्भर देखाइ सर्वसाधारणसँग पैसा माग्दै हिँड्ने एक जनालाई पक्राउ परेका छन्।रुपन्देहीको सिद्धार्थनगर–१३ शान्तिनगर पक्राउ पर्नेमा स्थानीय ४९ वर्षीय राकेश प्रताप राणा छन्। उनी हाल ओमसतिया-४ बालापुरमा कोठा भाडामा बस्दै आएको कुलेको छ।
शुक्रबार साँझ भैरहवा बजार क्षेत्रमा राणाले ‘म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ’ भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आएपछि इन्स्पेक्टरको कमाण्डमा परिचालित टोलीले उनलाई नियन्त्रणमा लिएको हो।