काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले एटीआर-७२-६०० विमान भित्र्याएको छ। काठमाडौं ाइपुगेको जहाजलाई आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि नियमित उडानमा प्रयोग गरिने कम्पनीले जनाएको छ।
कल साइन नाइन एन-एओएसको उक्त विमान बुद्धले फ्रान्सको तुलुसबाट ल्याएको हो। यो एटीआर-७२-६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ।
यस सिरिजका विमान कम इन्धन खपत गर्नाले वातावरण मैत्री मानिन्छन्। बुद्ध एयरले आयात गरेको एटीआर-७२-६०० सिरिजको विमानमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएको छ। उक्त प्रणालीको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पनि आरएनपी-एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ। यो प्रक्रिया लागू भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा बुद्ध एयरको यस विमानले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको छ। कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्नेछन् बुद्ध एयरको विश्वास छ। यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्नेछ।
हाल ‘इन्ट्रयुमेन्ट ल्याण्डिङ सिस्टम’ (आइएलएस) प्रक्रियाअनुसार पोखराका लागि ३१०० मिटर तथा काठमाडौं र भैरहवाका लागि १६०० मिटर ‘भिजिबिलिटी’ आवश्यक पर्छ।
बुद्ध एयरले आगामी अगष्टको अन्तिमतिर अझै एउटा एटीआर-७२-६०० सिरिजको विमान ल्याउने पनि जनाएको छ। त्यसैगरी आगामी केही महिनाभित्र यस्तै, सिरिजका थप दुई विमान पनि ल्याउने भित्र्याउने योजनाअनुसार गृहकार्य गरिरहेको छ।
बुद्ध एयरसँग हाल एउटा एटीआर-४२-३२० सिरिजको एउटा, एटीआर-७२-५०० सिरिज १५ र एउटा एटीआर-७२-६०० विमान छन्।