BIZMANDU
www.bizmandu.com

स्टारसिपको १३औँ परीक्षण सफल, मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठायो २० अत्याधुनिक उपग्रह

२०८३ साउन ९

स्टारसिपको १३औँ परीक्षण सफल, मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठायो २० अत्याधुनिक उपग्रह
स्टारसिपको १३औँ परीक्षण सफल, मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठायो २० अत्याधुनिक उपग्रह


एलन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो विशाल रकेट ‘स्टारसिप’को १३औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। अमेरिकाको टेक्सासको दक्षिणी छेउस्थित स्टारबेसबाट शुक्रबार प्रक्षेपण गरिएको रकेटले पृथ्वीको आधा भाग पार गर्दै हिन्द महासागरसम्मको यात्रा पूरा गरेको हो।

Tata
GBIME

यस क्रममा स्टारसिपले अहिलेसम्मकै सबैभन्दा उन्नत २० वटा स्टारलिंक उपग्रह पनि सफलतापूर्वक कक्षामा पठाएको छ।

१२४ मिटर अग्लो स्टारसिप विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट मानिन्छ। अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले यस परीक्षणलाई चन्द्रमामा मानव अवतरण गराउने ‘आर्टेमिस’ कार्यक्रमका लागि महत्त्वपूर्ण चरणका रूपमा निगरानी गरेको थियो। भविष्यमा यही स्टारसिपलाई चन्द्रमामा अन्तरिक्ष यात्री अवतरण गराउने यानका रूपमा प्रयोग गर्ने योजना छ।

करिब एक घण्टाको उडानपछि स्टारसिप हिन्द महासागरमा नियन्त्रित रूपमा अवतरण भयो। अवतरण यति सहज थियो कि यान केही समय पानीमै तैरिरहेको देखिएको थियो। स्पेसएक्सको प्रत्यक्ष प्रसारण सकिँदासम्म यान पानीमा सुरक्षित देखिएपछि प्रक्षेपणस्थलमा रहेका कर्मचारीहरूले खुसी व्यक्त गरेका थिए।

यो परीक्षणअघि गत साता प्रक्षेपणको अन्तिम क्षणमा रद्द भएको थियो। पहिलो चरणको बुस्टरका ३३ मध्ये ६ वटा इन्जिन स्टार्ट हुन नसकेपछि प्रक्षेपण स्थगित गरिएको थियो। त्यसपछि ती इन्जिन फेरेर पुनः परीक्षण गरिएको हो। मे महिनामा भएको अघिल्लो परीक्षणमा पनि इन्जिन समस्याका कारण बुस्टर नियन्त्रित रूपमा फर्किन सकेको थिएन।

यसपटक सबै इन्जिनले सुरुआतमा काम गरे पनि बुस्टर पृथ्वीमा फर्किने क्रममा आवश्यक संख्यामा इन्जिन पुनः सञ्चालन हुन सकेनन्। त्यसका कारण बुस्टर अत्यधिक गतिमा मेक्सिकोको खाडीमा खस्यो। तर, माथिल्लो चरणको स्टारसिपले पूर्वतर्फको यात्रा जारी राख्दै करिब २०० किलोमिटर उचाइमा पुगेपछि २० वटा स्टारलिंक उपग्रह क्रमशः अन्तरिक्षमा छाड्यो।

यो स्टारसिपको नयाँ ‘भी–३’ संस्करणको दोस्रो परीक्षण उडान थियो। अघिल्ला परीक्षणझैँ यसपटक पनि बुस्टर र अन्तरिक्षयान दुवैलाई पुनः प्रयोगका लागि फिर्ता ल्याउने योजना थिएन। दुवैलाई समुद्रमा अवतरण गराइएको हो। यद्यपि, पुनःप्रवेशको क्रममा स्टारसिपको अवस्था अघिल्ला परीक्षणभन्दा निकै राम्रो रहेको स्पेसएक्सले जनाएको छ। अघिल्ला परीक्षणमा पुनःप्रवेशका क्रममा यान आगोले ढाकिएर विस्फोट भएका थिए वा बीच आकाशमै टुक्रिएका थिए।

स्पेसएक्सकी इन्जिनियर केट टाइसले यसलाई ‘भाग्यमानी १३औँ उडान’ भन्दै पुनःप्रवेश अपेक्षाभन्दा सफल भएको बताइन्।

यस उडानमा पठाइएका २० वटै स्टारलिंक उपग्रहले आफ्नो प्रारम्भिक काम पूरा गरेका छन्। यानबाट बाहिरिएपछि ती उपग्रहले पहिलेदेखि कक्षामा रहेका स्टारलिंकसँग लेजर प्रविधिमार्फत सफलतापूर्वक सञ्चार गरेका थिए। हाल स्पेसएक्सका १० हजारभन्दा बढी स्टारलिंक उपग्रहले विश्वभर इन्टरनेट सेवा उपलब्ध गराइरहेका छन्।

नयाँ प्रक्षेपण गरिएका ६ वटा स्टारलिंकमा जडान गरिएका क्यामराले पुनःप्रवेशको क्रममा स्टारसिपको ताप प्रतिरोधी आवरणका उच्च गुणस्तरका तस्बिर खिचेर पृथ्वीमा पठाएका छन्। यान समुद्रमा तैरिरहेको अवस्थासम्म पनि ती क्यामराले स्पष्ट दृश्य पठाइरहेका थिए। साथै, ताप प्रतिरोधी आवरणमा जडान गरिएका सेन्सरहरूले पुनःप्रवेशका क्रममा यानले बेहोरेको अत्यधिक ताप र चापसम्बन्धी विवरण पनि संकलन गरेका छन्।

ताप प्रतिरोधी टायलमध्ये अधिकांश कालो रङका थिए भने केहीलाई जानाजानी सेतो रङ लगाएर केही टायल हराएको अवस्था सिर्जना गरिएको थियो। यस्तो प्रयोगबाट टायल नहुँदा पनि आवरणले कति प्रभावकारी रूपमा ताप सहन सक्छ भन्ने परीक्षण गरिएको स्पेसएक्सले जनाएको छ।

मस्कले सामाजिक सञ्जाल एक्समार्फत ‘हामीले आवश्यक सबै ताप प्रतिरोधी आवरणसम्बन्धी तथ्यांक प्राप्त गर्‍यौं, त्योभन्दा पनि बढी’ भन्दै खुसी व्यक्त गरेका छन्। नासाका प्रशासक जारेड आइज्याकम्यानले पनि स्पेसएक्सलाई बधाई दिँदै यस परीक्षणबाट भविष्यका अन्तरिक्ष अभियानका लागि महत्त्वपूर्ण अनुभव प्राप्त हुने बताएका छन्।

स्पेसएक्सले स्टारसिपको ताप प्रतिरोधी प्रणाली पूर्ण रूपमा विश्वसनीय बनेपछि यसलाई टेक्सासस्थित प्रक्षेपणस्थलमै सुरक्षित अवतरण गराउने लक्ष्य राखेको छ। कम्पनीले यसअघि विशाल यान्त्रिक हात प्रयोग गरेर बुस्टर समात्ने परीक्षण सफल गरिसकेको छ। अब यही प्रविधिबाट अन्तरिक्षयानलाई पनि समात्ने योजना छ, ताकि स्टारसिप पूर्ण रूपमा पुनःप्रयोग गर्न सकिने यान बन्न सकोस्।

नासाका लागि स्टारसिपको सफल परीक्षण अझ महत्त्वपूर्ण छ, किनभने ‘आर्टेमिस–३’ अभियानअन्तर्गत तीन अमेरिकी र एक इटालियन अन्तरिक्ष यात्रीले अर्को वर्ष स्टारसिपसँग आफ्नो अन्तरिक्षयान जोड्ने अभ्यास गर्ने तालिका छ।

उता, इलोन मस्कले यही स्टारसिपमार्फत मंगल ग्रहमा मान्छेको बस्ती बसाल्ने दीर्घकालीन योजना अघि बढाइरहेका छन्। उनले भविष्यमा मंगल र चन्द्रमाको पर्यटकीय यात्राका लागि समेत बुकिङ लिन थालेको बताएका छन्।

यो परीक्षण उडान सुरुमा जुलाई १६ मा इन्जिन समस्याका कारण स्थगित भएको थियो। त्यसपछि बिहीबार ‘बर्था’ आँधीका कारण बाक्लो बादल लागेपछि मिति पुनः सारिएको थियो। अन्ततः शुक्रबार मौसम अनुकूल भएपछि परीक्षण सफलतापूर्वक सम्पन्न भएको हो। (एपी)