विराटनगर। आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व संकलन गरी ८५.१५ प्रतिशत प्रगति गरेको जनाएको छ।
उक्त अवधिमा कार्यालयका लागि १२ अर्ब १० करोड २८ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। १ अर्ब ७९ करोड ७५ लाख ४४ हजार रुपैयाँ राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए।
संकलित राजस्वमा आयकर रु ४ अर्ब ७ करोड २५ लाख ४१ हजार र बहाल आयकर रु ८ करोड ८ लाख ५५ हजार छ। यस्तै ब्याज कर रु ३८ करोड १३ लाख १ हजार, मूल्यअभिवृद्धि कर रु २ अर्ब ५६ करोड ८६ लाख ७५ हजार, अन्तःशुल्क रु ३ अर्ब १५ करोड १० लाख ४९ हजार, शिक्षा कर रु ८४ हजार र अन्य कर रु ५ करोड ८ लाख ३२ हजार उठेको छ।
कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ४४ करोड रुपैयाँको राजस्व लक्ष्यमा ८ अर्ब ९३ करोड, आव २०८१/८२ मा १० अर्ब ७२ करोडको लक्ष्यमा ९ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। तुलनात्मक रूपमा आर्थिक वर्ष २०८०/८१ मा ८.७७ प्रतिशत, आव २०८१/८२ मा ७.६१ प्रतिशत र आव २०८२/८३ मा ७.२८ प्रतिशत राजस्व वृद्धि भएको जानकारी प्रमुख उप्रेतीले दिए।
कुल ६० हजार ६७५ करदाता आबद्ध रहेको यस कार्यालयले जेनजी आन्दोलनपछि परिवर्तित अवस्थामा लक्ष्यअनुसार कर असुल गर्न नसकेको र कार्यालय बाहिर गएर काम गर्ने अवस्था पनि नरहेको प्रमुख उप्रेतीले बताए।