बागमती। अनलाइन ठगीमा संलग्न आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको पटनाका २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार र हेटौंडा-१० स्थित बाँस्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोला छन्।
उनीहरूको मिलोमतोमा भारतीय नागरिकसमेतलाई विभिन्न प्रलोभन देखाई अनलाइनबाट ठगी गर्ने गरेको भन्ने सूचनाका आधारमा हेटौँडा-१० स्थित बाँस्तोला होटलबाट चारै जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको हो।
उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजहरूले प्रयोग गर्ने मोबाइलमा ठगी प्रयोजनका लागि टेलिग्राम, ह्वाट्सएप लगायत एप्सहरूमार्फत ग्रुप तयार गरी रकमको कारोबारसमेत भएको देखिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ गरिएका चारे जनालाई थुनामा राखि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत हेटौंडाबाट अनुमति लिएको छ। अनलाइन ठगीसम्बन्धी कसुर मुद्दामा चलाउन अनुसन्धान भइरहेको जनाइएको छ। रासस