काठमाडौं। आधा सिलिण्डर ग्यास बेच्दा देखिएको माग र आपूर्तिको समन्वय मिलाउन नेपाल आयल निगमलाई तीन महिनाभन्दा बढी समय लाग्ने देखिएको छ।
बजारमा अहिले पनि ग्यास आपूर्ति सहज हुन सकेको छैन। एक सिलिन्डर ग्यास लिनका लागि एक हप्ताभन्दा बढी समय कुर्नु परेको गुनासो उपभोक्ताहरुले गरिरहेका छन्।
निगमले तीन महिनासम्म भारतबाट ५५ हजार टनका दरले ग्यास आए मात्रै आपूर्ति सहज हुने निष्कर्ष निकालेको छ।
‘हामीले भारतीय आयल कर्पोरेसन (आइओसी)लाई तीन महिनासम्म ५५ हजार टनका दरले ग्यास उपलब्ध गराइदिन आग्रह गरेका छौं,’ निगमका एलपीजी तथा एभिएसन विभागका निर्देशक विनितमणि उपाध्यायले बिजमाण्डूसँग भने, ‘उनीहरुले सकेसम्म बढी दिन्छौं भनेर प्रतिबद्धता गरेका छन्।’
उनका अनुसार चार महिनासम्म आधा सिलिण्डर बेचेका कारण अहिले धेरैले खाली सिलिण्डर एकैपटक बजारमा पठाएकाले माग उच्च भएको हो।
‘उपभोक्ताले स्टक सिलिण्डर पठाएकाले माग उच्च छ,’ उपाध्यायले भने, ‘हामीले यो तीन महिनामा माग अनुसार ग्यास पठाउन सकेनौं भने चाडपर्वसँगै जाडो महिनासम्म झन् समस्या हुने भएकाले आइओसीलाई आपूर्ति बढाइदिन आग्रह गरेका हौं।’
ग्यासको माग गर्मी महिनामा मासिक ४५ हजार टन हाराहारीमा हुने निगमको तथ्यांक छ। जाडो महिनामा भने मासिक ५० हजार टनभन्दा बढी ग्यास खपत हुने गर्छ। इरान युद्धसँगै ग्यास आपूर्तिमा समस्या आएकाले माग अनुसार भारतले नेपाललाई आपूर्ति गर्न सकेको छैन।
मे महिनामा जम्मा २८ हजार ५०५ टन मात्रै ग्यास नेपाल भित्रिएको थियो। अप्रिलमा समेत ४ हजार ८१ टन मात्रै आयात भएको थियो। फेब्रुअरी महिनामा भने ४९ हजार २०४ टन ग्यास आयात भएको थियो। यही ‘सर्टफल’ हेरेर आपूर्ति सहजताका लागि ४ महिनासम्म आधा सिलिण्डर ग्यास बेच्ने निर्णय निगमले गरेको थियो।

हल्दिया र दुर्गापुर बन्द हुँदा तनाव
आइओसीको हल्दिया र दुर्गापुरको डिपो बन्द भएपछि नेपालमा हुँदै आएको ग्यास आपूर्ति समेत प्रभावित भएको छ। यसले निगमलाई तनाव सुरु भएको छ।
हल्दियाको ग्यास पाइपलाइनमा भएको आगलागीका कारण दुई डिपो बन्द भएपछि आपूर्ति प्रभावित भएको हो। निगमका अनुसार जुलाईमा २४ तारिखसम्म ३१ हजार टन ग्यास नेपाल आएको छ।
नेपालले बरौनी, हल्दिया, दुर्गापुर, मथुरा र पारादीपमा रहेको आइओसीको डिपोबाट ग्यास ल्याउने गर्छ। नेपालबाट सबैभन्दा नजिक रहेको बरौनी डिपोबाट जुलाईमा माग अनुसार ग्यास आउन सकेको छैन।
हल्दिया र दुर्गापुरको डिपो बन्द हुँदा बरौनीबाट नेपालभन्दा भारतले आफ्नै देशलाई प्राथमिकता राखेर ग्यास आपूर्ति गरिरहेको छ। दुई डिपो बन्द भएपछि निगमले सबैभन्दा टाढा रहेको पारादीपबाट ग्यास धेरै ल्याउन प्रयास गरिरहेको छ। निगमका अनुसार पारादीपबाट १६ हजार टन ग्यास आएको छ।
उपाध्यायले ग्यास आपूर्ति बढाउनका लागि आइओसीका तीनवटा डिपोमा आफ्ना कर्मचारी नै खटाएको जानकारी दिए। निगमले पारादीप र बरौनीमा दुई साताअघि अभिषेक ठाकुर र उपेन्द्र सुवेदीलाई खटाएको थियो भने केही दिनअघि मात्रै मथुरा डिपोमा शिशिर सुवेदीलाई पठाइएको छ।

‘हामीले लोडिङ समन्वय गर्नका लागि कर्मचारी पठाएर आपूर्ति सहज गर्न खोजिरहेका छौं। हल्दिया र दुर्गापुर बन्द भएकैले अरु डिपोबाट बढी लोड ल्याउने प्रयास गरिरहेका छौं। यो महिना ७ दिनभित्र थप १४ हजार टनसम्म ल्याउने प्रयत्नमा छौं,’ उपाध्यायले भने।
सुगम ग्यासका उच्च व्यवस्थापनमा रहेका महेश्वर घिमिरेले पूरा तौल ग्यास बिक्री सुरु भएपछि स्टकमा रहेका सिलिण्डर बजारमा आउँदा माग पूरा गर्न कठिन भइरहेको बताए।
‘हामीले माग अनुसार ग्यास दिन सकेका छैनौं। आधा ग्यास भर्दा थुप्रिएका सिलिण्डर बजारमा आएका छन्। त्यो माग पूरा गर्न भारतबाट आपूर्ति बढाउनुपर्नेमा झन् समस्या भयो,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले डिलरकहाँ ग्यास पुर्याउन नसकेर उपभोक्ता आक्रोशित हुन थालेका छन्।’
उनका अनुसार ग्यास आपूर्ति बढाएर भारतबाट धेरै ल्याउन नसकेमा चाडपर्व र जाडोसम्म समस्या बल्झिनेछ।