BIZMANDU
www.bizmandu.com

बालेनले दिलाए कुमार बेन र असिमलाई मन्त्री सरहको सुविधा, अरु मन्त्रीका सल्लाहकार कति?

२०८३ साउन ८

बालेनले दिलाए कुमार बेन र असिमलाई मन्त्री सरहको सुविधा, अरु मन्त्रीका सल्लाहकार कति?
बालेनले दिलाए कुमार बेन र असिमलाई मन्त्री सरहको सुविधा, अरु मन्त्रीका सल्लाहकार कति?


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २७ जनाले जागिर पाएका छन्। तीमध्ये प्रमुख सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्रीसरहको सुविधा दिइएको छ। 

Tata
GBIME

अरु दुई जनालाई भने राज्यमन्त्री सरहको सुविधा दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

‘मन्त्री सरहको सुविधा पाउने गरी २ जना (मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार) तथा राज्यमन्त्री सरहको सुविधा पाउने गरी २ जना (नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार) नियुक्त भएको। यसका अतिरिक्त १ जना अवैतनिक स्वास्थ्य सल्लाहकारको नियुक्ति भएको छ,’ प्रधानमन्त्री कार्यालयले भनेको छ। 

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सचिवालय सदस्य नियुक्तिबारे प्रधानमन्त्री शाहलाई प्रश्न सोध्दै संसद् सचिवालयमा दर्ता गराएको प्रश्नको जवाफमा प्रधानमन्त्री कार्यालयले ४८ जनाको दरबन्दीमा २७ जना नियुक्त गरिएको जवाफ दिएको छ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार सचिवालय सदस्य नियुक्त भएको उल्लेख गरिएको छ। 

सचिवालय सदस्यले गाडी सुविधा पाउने/नपाउनेबारे थपलियाले सोधेको प्रश्नमा जवाफ दिइएको छैन। सचिवालयको मासिक खर्च, टेलिफोन/खाजा/पेट्रोलियमसहित खर्चबारे पनि प्रधानमन्त्री कार्यालयले जवाफ दिएको छैन। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विशिष्ट श्रेणी सरहका १ जनासहित बढीमा ५ जनासम्म सल्लाहकार नियुक्त गर्न सक्ने व्यवस्था रहेको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ।

अरु मन्त्रीले विशिष्ट श्रेणी सरहका १ जनासहित बढीमा ३ जनासम्म सल्लाहकार नियुक्त गर्न सक्ने व्यवस्था रहेको जवाफमा उल्लेख छ।