BIZMANDU
www.bizmandu.com

परराष्ट्रमन्त्री शिशिर खनालको ‘इकोनोमिक डिप्लोमेसी’, एयर रुटमा बाटो खुल्दै, भैरहवाका लागि ब्रेक-थ्रु

२०८३ साउन ८

परराष्ट्रमन्त्री शिशिर खनालको ‘इकोनोमिक डिप्लोमेसी’, एयर रुटमा बाटो खुल्दै, भैरहवाका लागि ब्रेक-थ्रु
परराष्ट्रमन्त्री शिशिर खनालको ‘इकोनोमिक डिप्लोमेसी’, एयर रुटमा बाटो खुल्दै, भैरहवाका लागि ब्रेक-थ्रु


काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल गत जेठ २२ गते भारत भ्रमण गएका थिए। भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा गएका शिशिरले आर्थिक एजेण्डालाई प्राथमिकता दिए।

Tata
GBIME

शिशिर र जयशंकरबीच भएको भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जाका विषयमा छलफल भयो। शिशिरले सबैभन्दा प्राथमिकतामा राखेको मुद्दा थियो-भैरहवा र पोखरा क्षेत्रीय विमानस्थल संचालन।

यी विमानस्थल निर्माणका लागि मुलुकले ठूलो ऋण लिए पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एसियाली विकास बैंक र पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकबाट २८ अर्ब हाराहारीमा ऋण लिइएको छ।

यी दुई विमानस्थल संचालनका लागि शिशिरले जयशंकरसामु वैकल्पिक एयर रुट दिन प्रस्ताव गरेका हुन्। उनले आफ्ना समकक्षीसमक्ष सिमराबाहेक भैरहवाका लागि लखनउबाट एयर रुट दिन प्रस्ताव गरेका थिए। यो प्रस्तावलाई जयशंकरले सकारात्मक रुपमा लिए।

असार अन्तिम साता भारतका अतिरिक्त सचिव मुनु महावर नेपाल आए। महावर शिशिरसँग शिष्टाचार भेटका लागि असार ३२ गते परराष्ट्र मन्त्रालय पुगे।

परराष्ट्रमन्त्री खनालले महावरसँगको वार्तामा पनि आर्थिक मुद्दालाई प्राथमिकता दिए। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिँदै वैकल्पिक एयर रुटका लागि आग्रह गरेको स्रोतले बतायो।

महावरले मन्त्री खनाललाई प्राविधिक तहभन्दा माथिल्लो तहबाट एयर रुटको समस्या समाधान गर्न खोजेको जानकारी गराए। कुनै पनि द्विपक्षीय एजेण्डालाई तीन तहबाट समाधान गरिन्छ। पहिलो- दुई देशको प्राविधिक तह (सहसचिवस्तर), दोस्रो- सचिवस्तर र तेस्रो- राजनीतिक तह।

एयर रुटबारे दुई देशबीच सहमति नभएको विषयलाई माथिल्लो तहबाट सल्टाउने तयारीस्वरुप अर्को महिना भारतबाट टोली आउने जानकारी महावरले गराए।

परराष्ट्रमन्त्री खनालले ऋण लिएर निर्मित दुई वटा विमानस्थल संचालनमा ल्याउन सुरुदेखि नै पहल गरेको जानकारी दिँदै केही सकारात्मक संकेत देखिएको बताए।

‘हामीले ऋण लिएर बनाएका परियोजनाले प्रतिफल दिन सकेनन् भने हामी समस्यामा पर्छौं भनेर सुरुवातदेखि विमानस्थल संचालनको विषयलाई प्राथमिकतामा राखेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘गौतमबुद्ध विमानस्थलका लागि वैकल्पिक एयर रुटको प्रयास सफल हुनेमा आशावादी छु।’

नयाँ हवाई रुट दिने विषयमा तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणका बेलामा सहमति भएको थियो। २०८० साल जेठ तेस्रो साता प्रचण्डसँग वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमै हवाई रुट उपलब्ध गराउने बताएका थिए। प्रचण्डले पनि दिल्लीबाट फर्किएपछि हवाई रुट दिन मोदीले सहमति जनाएको बताएका थिए।

त्यसको दुई सातापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले जनकपुर, लुम्बिनी, नेपालगन्ज र महेन्द्रनगरबाट हवाई रुट दिन परराष्ट्र मन्त्रालयमार्फत पत्र पठायो। तर भारतले त्यसको जवाफ नै दिएन।

नेपालले मागेको हवाई रुट प्रयोग गर्न दिँदा आफ्नो एयरबेसमा असर पर्ने भारतीय अधिकारीको बुझाइ छ। लखनउमा एयरवेस रहेकोले त्यहाँबाट एयर रुट दिन भारतले मानेको छैन।

स्रोतका अनुसार नेपालले अहिले क्षेत्रीय उडानका लागि त्यहींबाट एयर रुट दिन आग्रह गरिरहेको छ।

‘नेपाली हवाई कम्पनीलाई लखनउबाट एयर रुट दिने प्रस्तावमा जोडबल गर्दै आएका छौं,’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘विदेशी वायुसेवा प्रदायकका हकमा समस्या हुन्छ भन्ने लाग्यो भने यो विकल्पमा जाउ भनेका हौं। यो हुँदा पनि बुद्ध, श्री, यतिजस्ता नेपाली कम्पनीले क्षेत्रीय उडान गर्न सक्छन्। त्यसले हाम्रो पर्यटन क्षेत्रमा ठूलो प्रभाव पार्न सक्छ।’

स्रोतका अनुसार यो प्रस्तावप्रति भारतीय पक्ष सकारात्मक नै देखिन्छ। भारतीय पक्ष सकारात्मक देखिएपछि परराष्ट्रमन्त्री शिशिर स्वयंले केही आन्तरिक हवाई कम्पनीका संचालकसँग क्षेत्रीय उडान गर्ने विषयमा छलफल गरेका छन्।

‘परराष्ट्रमन्त्रीज्यूले क्षेत्रीय उडान गर्न सकिन्छ भनेर सोध्नुभएको थियो। एयर रुट नजिकको भए भैरहवा र पोखराबाट उडान गर्न सकिन्छ भन्ने जवाफ दिएका छौं,’ एक कम्पनीका संचालकले भने, ‘दुई वटा विमानस्थल संचालनका लागि उहाँ धेरै चिन्तित हुनुहुँदो रहेछ भन्ने उहाँको पहलबाट थाहा भयो।’

नेपाललाई भारतले हाल एउटा मात्र हवाई रुट उपलब्ध गराउँदै आएको छ। विभिन्न मुलुकबाट आउने उडान सिमरा नजिकैको रोमियो विन्दुबाट मात्र नेपाल प्रवेश गर्छन्। यो प्रवेश विन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजका लागि मात्र उपयुक्त हो।

अर्को भनेको महेन्द्रनगर प्रवेश विन्दु गौतम बुद्ध, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजका लागि उपयुक्त हुन्छ।