काठमाडौं। पशु सेवा विभागले साउन लागेयता बर्डफ्लुको संक्रमण नदेखिएको बताएसँगै ब्रोइलर कुखुराको मासुको भाउ बढ्न थालेको छ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासुको नयाँ मूल्य तोकेको छ।
संघले जिउँदो कुखुराको मूल्य प्रति केजी १० रुपैयाँ बढाएर २३० रुपैयाँ पुर्याएको छ। यसअघि बर्डफ्लुका कारण जिउँदो कुखुराको मूल्य केजीमा ६० रुपैयाँसम्म घटेको थियो।
संघले तयारी मासुको उपभोक्ता मूल्य प्रति केजी १५ रुपैयाँ बढाएर ३१५ रुपैयाँ तोकेको छ।
संघका अनुसार यतिबेला ब्रोइलर कुखुराको उत्पादन कम छ। बजारमा खपत बढ्न थालेको र उत्पादन कम रहेकाले अबको केही समय भाउ बढ्ने भएको संघले जनाएको छ।