BIZMANDU
www.bizmandu.com

रेन्ज, पावर र प्रिमियम फिचरले भरिएको एमजी एस६, टेस्ट ड्राइभपछि यस्तो रह्यो हाम्रो अनुभव

२०८३ साउन ८

रेन्ज, पावर र प्रिमियम फिचरले भरिएको एमजी एस६, टेस्ट ड्राइभपछि यस्तो रह्यो हाम्रो अनुभव
रेन्ज, पावर र प्रिमियम फिचरले भरिएको एमजी एस६, टेस्ट ड्राइभपछि यस्तो रह्यो हाम्रो अनुभव


प्यासेन्जर भेहिकलमा शतक लामो यात्रा पूरा गरिसकेको मोरिस ग्यारेजले पछिल्ला दिनमा आफूलाई विद्युतीय सवारी (इभी)मा केन्द्रित गर्दै लगेको छ। लामो समय बेलायती चर्चित ब्रान्डका रुपमा रहेको मोरिस ग्यारेज अर्थात् एमजी अहिले चिनियाँ लगानीको कम्पनीमा रुपान्तरित भएर बलियो ग्लोबल ब्रान्डका रुपमा स्थापित छ।

Tata
GBIME

शताब्दीभन्दा लामो विरासत बोकेका युरोपेली मुलुकको प्रविधिलाई इभीतर्फ पत्तै नदिइ उछिनेका चिनिया कम्पनी यतिखेर विश्वको अटोमोबाइल इन्ड्रस्टीमा सबैभन्दा बलियो खेलाडीका रुपमा उपस्थित छन्।

तिनैमध्येको एउटा ब्रान्ड एमजी नेपालको सन्दर्भमा अझ बढी स्थापित नाम हो। प्रारम्भिक दिनमा नेपाली उपभोक्ताबीच इभी कारलाई स्थापित गर्न सबैभन्दा ठूलो भूमिका यही कम्पनीको रह्यो।

यसपाला हामी तपाईँलाई यही कम्पनीको पछिल्लो प्रोडक्ट ‘एमजी एस सिक्स’को टेस्ट ड्राइभमा लैजाँदैछौं।

एमजीले एस सिक्सलाई पछिल्लो पुस्ताको एसयूभीका रुपमा अर्थ्याएको छ। यसरी अर्थ लगाउनुको पछाडि यसमा रहेका फिचरहरू नै हुन्।

बलियो मोटर क्षमता, ब्याट्री र त्यसले दिने रेञ्जका अलावा सेफ्टी फिचरहरूले यस मोडलाई प्रिमियम बनाएको छ। इभी प्लेटफर्ममा चिनियाँ कम्पनीहरूले ठूलो लगानी गरेका छन्। त्यसको अर्थ हो- उनीहरू परम्परागत मोडालिटीमा तयार भएको एरोडायनमिक्सबाट सन्तुष्ट छैनन्।

तत्कालीक आवश्यकताभन्दा फ्युचरिस्टिक हुने सोच देखिन्छ यस्ता कारमा। एस सिक्समा हामीले त्यही अनुभूति गर्‍यौं। आकर्षक लुकले जोकसैलाई लोभ्याउँछ नै, इन्टेरियरले थप प्रिमियम फिल गराउँछ। इन्टेरियरमा प्रयोग भएका सफ्ट टच फाइबरले यसप्रति सकारात्मक दृष्टिकोण कायम राख्‍न बाध्य बनाउँछ।

प्रिमियम सेगमेन्टकै गाडीमा पनि नेपालमा मोटर क्षमता १ सय किलोवाटमा भित्र्याउने परम्परा थियो- करका दरका कारण। तर, अब गाडीमा लाग्ने कर मोटर क्षमतामा निर्धारित नहुने भएपछि परम्परागत दृष्टिकोण फेरिनु स्वभाविक बनेको छ।

यसमा १ सय ८० किलोवाट क्षमताको मोटर छ। यो नेपाली सडकमा कुदिरहेका उपल्लो दर्जाका इभीको भन्दा झन्डै दोब्बर क्षमता हो।

त्यसमाथि यसमा ७७ किलोवाट आवर क्षमताको ब्याट्री छ। सेगेमेन्टअनुसार यसलाई माथिल्लो मान्नैपर्छ।

एकपटक पूरा चार्ज गर्दा ५ सय ३० किलोमिटर दुरी तय गर्ने कम्पनीको दाबी छ। डब्लुएलटीपी परीक्षणका आधारमा ५ सयभन्दा माथिको दुरी तय गर्ने भने पनि हाम्रो बाटोको अवस्थाले दाबी गरेअनुसारको परिणाम दिन सक्दैन।

यसका लागि गाडीको क्षमता होइन हाम्रो पूर्वाधार दोषी मानौं। दाबीको १ सय किलोमिटर दुरीलाई घटाउने हो भने पनि यसले तय गर्ने दुरी लामो यात्राका लागि पर्याप्त छ हाम्रो घुम्ती र उकाली ओरालीहरूमा।

नेपालका सडकको अवस्थालाई सम्बोधन गर्नेखालको छ गाडीको ग्राउन्ड क्लियरेन्स- १९५ एमएम।

हामीले यस गाडीलाई सहरी बाटोबाट केही अफरोडको यात्रा गराउन चाह्यौं। बन्दै गरेको सडकमा निर्धक्क कुदाउन सकिने ग्राउन्ड क्लियरेन्स भएपछि अनावश्यक तनाव रहँदैन। त्यसैले हामी लाग्यौं काभ्रेपलाञ्चोक जिल्लातिर।

धुलिखेलतिरको यस यात्रामा पर्याप्त अफरोड थियो। बन्दै गरेका सडक र बन्ने संकेतमात्र दिइरहेका सर्भिस लेनमा उवडखावड तथा ढुंगाहरू धेरै नै थिए। त्यस्तो बाटोमा हामीले संकोचविना नै हुँइक्यायौं।

मोटर क्षमताले हामीलाई उकालोमा सहज यात्रा र रफ्तार बढाउन सघाइरह्यो। त्यसमाथि रेयर ह्विल ड्राइभ भएकाले पर्फर्मेन्स अझ अब्बल हुने नै भयो। २० इन्चको ह्विल भएपछि अलिक अग्लो देखिनु स्वभाविक रह्यो भने त्यसले एसयूभी चढुनुको फिल गराइरह्यो।

हामीले थापाथलीबाट धुलिखेलसम्मको यात्रा गर्‍यौं। साँगा भञ्ज्याङ हाम्रा लागि विशेष थियो किनकि त्यहाँ अन्डरपास हुँदै यात्रा तय भयो।

केही समय साँघाभन्दा केही वर रहेको प्लटिङमा हामीले यसलाई कुदायौं। सुविधासम्पन्न आवासीय क्षेत्रलाई सुहाउँदो लाग्यो यो गाडी।

फराकिलो लेग स्पेस रहेकाले गाडीमा कम्फर्टमाथि कुनै कम्प्रोमाइज छैन भन्ने बुझ्न कठिन भएन। त्यसमाथि ६ सय ७४ लिटर बुट स्पेस भएकाले लामो यात्रामा चाहिने जति सामान राख्न सकिने नै भयो।

अझ यसमा फ्रन्ट बुट पनि छ जसमा १ सय २४ लिटर सामान अटाउन सकिन्छ। रियर ह्विल ड्राइभ भएका कारण फन्ट बुटमा यति धेरै स्पेस निस्किएको हो। ह्यान्डस फ्री टेलगेट त पछिल्लो समय लग्जरी सेगमेन्टमा हुने नै भयो।

गाडीमा हेड अप डिस्प्ले भएकाले चलाउनेले थप प्रिमियम अनुभव गर्ने नै भए। त्यससँगै सेफ्टीका लागि कुनै कसर छाडेको छैन एमजीले। क्यामरा र सेन्सरले सबै कोणबाट गाडीलाई सुरक्षित राख्‍न र चालकलाई अलर्ट बनाउँछ।

पाँचवटा ड्राइभिङ मोड छ यसमा। जसले सुरक्षालाई पनि जोड्छ। जस्तो कि हिउँ परेको ठाउँमा सुरक्षित यात्रा गराउने मोड। कस्टम मोडमा आफूअनुकूल कस्टमाइजको पनि सुविधा हुने नै भयो। तीब्र कुदाउन स्पोर्ट।

यसमा पाइलट फिचर अन्तर्गत केही फरक सुविधा उपलब्ध छन्। ट्राफिक जाम असिस्टेन्स होस् या ड्राइभिङ मोनिटरिङ सिस्टम वा लेन किप असिस्ट सबैले सुरक्षित यात्रा गराउन सघाउँछ। गाडीको मूल्य बजेट अगाडि ७० लाख मात्रै थियो भने बजेट पछि ७२ लाख रुपैयाँ तोकिएको रहेछ।

हामीले यस टेस्ट ड्राइभबाट गाडीको प्रिमियम प्रस्पेक्टिभ बुझ्न सक्यौं। लामो दुरीको यात्रा अनुभव भने हामीसँग रहेन।

हाम्रो टेस्ट ड्राइभले यो एसयूभी लग्जरी रुचाउने उपभोक्तालाई लक्षित छ भन्ने ठम्यायो। इन्ट्री तथा मिड रेन्ज लेभलबाट अपग्रेट गर्न चाहनेका लागि यो बलियो विकल्पका रुपमा आएको छ। विशेषगरी लामो दुरीको यात्रा तय गर्नेका लागि बलियो विकल्प पनि।