काठमाडौं। पछिल्ला वर्षमा सुनमा बढ्दो लगानीलाई मध्यनजर गर्दै विभिन्न देशले ‘पेपर गोल्ड’ अर्थात् डिजिटल माध्यमबाट सुनमा लगानीको सुविधा ल्याइरहँदा नेपालमा पनि यसलाई विकल्पको रुपमा हेर्न थालिएको छ।
भू-राजनीतिक तनाव, डलरको भाउमा उतारचढाव र विश्वभरका केन्द्रीय बैंकले आक्रामक रुपमा खरिद गरेका कारण सुनको माग उच्च दरले बढेपछि धेरै देशले ‘पेपर गोल्ड’लाई लगानीको उपकरणका रुपमा अगाडि सारेकामा नेपालमा पनि यसलाई नयाँ विकल्पको रुपमा लिनुपर्ने आवाज उठेको हो।
धेरै मुलुकले संचालनमा ल्याएको ‘डिजिटल गोल्ड’लाई नेपालमा पनि आधुनिक लगानीको नयाँ विकल्पका रुपमा विकास गर्न आवश्यक रहेको जानकारहरू बताउँछन्।
नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले नेपालमा ‘डिजिटल गोल्ड’मा लगानी खुला गर्न अब ढिला गर्न नहुने बताए।
‘विश्वका धेरै मुलुकले सुनको बढ्दो मागलाई हेरेर डिजिटल गोल्ड खरिद बिक्री गर्न पाउने सुविधा सुरु गरिसकेका छन,’ उनले भने, ‘हामीले पनि त्यसलाई एडप्ट गर्नुको विकल्प छैन। अब सक्दो चाँडो त्यसमा जानुपर्छ। जति ढिलाइ हुन्छ त्यति नै पछि परिन्छ।’
‘डिजिटल गोल्ड’ भनेको डिजिटल माध्यमबाट खरिद गरिने सुन हो। यसमा भौतिक रूपमा सुन लेनदेन हुँदैन। लगानी बराबरको वास्तविक सुन विक्रेताले डिजिटल प्लाटफर्ममा सुरक्षित राखिदिन्छ।
कुनै कम्पनीको सेयर किन्दा त्यो डिम्याट खातामा जम्मा भएजस्तै ‘डिजिटल गोल्ड’ पनि खरिद पछि अनलाइन खातामा आउँछ।
छिमेकी भारतसहित अमेरिका, बेलायत, सिंगापुर लगायत देशमा ‘पेपर गोल्ड’मा लगानीको व्यवस्था छ। विश्व बजारमा प्रचलित बनिरहेको डिजिटल गोल्डमा लगानीका लागि नेपालमा भने कानुनी व्यवस्था छैन।
गिरीले डिजिटल युगमा पेपर गोल्ड जस्ता उपकरणले भैतिकरुपमा देखिएका जोखिम घटाउने र लगानीको ‘एभिन्यू’ थप्ने बताए। कमोडिटी मार्केट सुरु गर्न अझै केही समय लाग्ने भएकाले ‘पेपर गोल्ड’मा लगानीको ढोका खोल्नुपर्ने उनको भनाइ छ।
‘लगानीकर्ताले पैसा हाल्ने ठाउँ नपाइरहेका बेला सरकारले नयाँ उपकरणतर्फ ध्यान दिनुपर्छ। पेपर गोल्ड जस्ता उपकरण नल्याएसम्म इक्विटीमा आधारित सेयर मार्केट बढाउन सकिंदैन,’ गिरीले भने।
हाल नेपालमा सुनमा लगानी गर्न गरगहना नै किन्नु पर्छ। गहना बाहेक सुन किनेर राख्न पाउने व्यवस्था छैन। सुन बैंकहरूले आयात गर्छन्।

राष्ट्र बैंकले तोकेका १४ वटा वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउँछन्। आयातका लागि अहिले दैनिक २५ किलोको कोटा तोकिएको छ।
बैंकले नेपाल सुनचाँदी व्यवसायी महासंघको सिफारिसका आधारमा सुनचाँदी व्यवसायीलाई बिक्री गर्छन्। सुनचाँदी व्यवसायीले बैंकसँग किनेर गहना बनाइ ग्राहकलाई बेच्ने गरेका छन्।
विश्वभर सुनमा लगानीलाई सुरक्षित मानिन्छ। तर, हामीकहाँ ग्राहकले रसायन प्रयोग नगरिएको अर्थात ढिक्के सुनमा लगानी गर्न पाउँदैनन्। यो भनेको सुनलाई लगानीको उपकरण मानिएको छैन भन्दा पनि हुन्छ।
यसबाहेक भारतसँग खुल्ला सिमानाका कारण करका दर परिवर्तन हुँदा सुन तस्करी हुने गरेको छ। डिजिटल गोल्डमा भौतिक सुनमा जस्तो जोखिम हुँदैन। त्यसैले बजारका अर्का जानकार अनलराज भट्टराई पनि ‘डिजिटल गोल्ड’लाई लगानीको उपकरणका रुपमा विकास गर्न आवश्यक ठान्छन्।
‘मानिसहरूले सुनमा लगानी गर्न अहिले गरगहना नै किन्नुपर्छ। काँचो सुनमा लगानी गर्न पाइँदैन,’ उनले भने, ‘त्यसैले लगानी गर्ने ठाउँ खोजिरहेकाहरूका लागि डिजिटल गोल्ड राम्रो विकल्प हो। सरकारले यसमा लगानी गर्ने व्यवस्था मिलाउनुपर्छ।’
छिमेकी मुलुक भारतमा गोल्ड ईटीएफअन्तर्गत लगानीकर्ताले स्टक एक्सचेन्जमार्फत सुनको डिजिटल एकाइ खरिद बिक्री गर्न मिल्छ। व्यक्तिले न्यूनतम १ ग्रामदेखि निश्चित सीमासम्म डिजिटलरुपमा सुन खरिद गर्न पाउँछन्। साथै, भारत सरकारले रिजर्भ बैंकमार्फत सोभरेन गोल्ड बन्ड जारी गर्छ।
यसरी जारी हुने गोल्ड बन्डमा लगानी गर्ने लगानीकर्ताले सुनको मूल्य बढ्दाको लाभ मात्र होइन, वार्षिक निश्चित ब्याजसमेत प्राप्त गर्छन्।
जानकारहरूका अनुसार यस्तो उपकरण संचालन गर्दा एकातिर भौतिक सुनको आयात कम भई विदेशी मुद्रा बचत हुन्छ भने अर्कातिर अवैध कारोबार र चोरीसम्बन्धी जोखिमसमेत घट्छ।
राष्ट्र बैंकका अधिकारीहरू पनि यसमा सहमत छन्। उनीहरू डिजिटल गोल्डमा लगानीको अवसर प्रदान गर्दा कर छलीको समस्या न्यूनीकरणमा समेत सहयोग पुग्ने बताउँछन्।
‘पेपर गोल्ड वा सोभरेन गोल्ड बन्डमा लगानीका लागि विदेशी विनिमय, पुँजी बजार तथा लगानीसम्बन्धी कानुनमा संशोधनसँगै स्पष्ट नियामकीय संरचना चाहिन्छ,’ राष्ट्र बैंकका एक कर्मचारीले भने।
विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ ले विदेशमा सिर्जना वा निष्कासन गरिएका सेक्युरिटी तथा विदेशी मुद्रामा भुक्तानी हुने लगानीका साधनमा नेपाली नागरिक तथा संस्थाले लगानी गर्न नपाउने व्यवस्था गरेको छ।