BIZMANDU
www.bizmandu.com

इभीको आयात खस्किंदा इन्धन सवारीको माग बढ्यो, दुई पाङ्ग्रेको बजार बुम

२०८३ साउन ७

इभीको आयात खस्किंदा इन्धन सवारीको माग बढ्यो, दुई पाङ्ग्रेको बजार बुम
इभीको आयात खस्किंदा इन्धन सवारीको माग बढ्यो, दुई पाङ्ग्रेको बजार बुम


काठमाडौं। एक वर्षमा एक खर्ब रुपैयाँ भन्दा धेरै मूल्यका सवारीसाधन भित्रिएका छन्।

Tata
GBIME

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष इन्धन र विद्युतीय गरी एक खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरका सवारीसाधन आयात गरिएका हुन्।

इन्धन कमर्सियल र प्यासेन्जर सवारीसाधनको आयात बढ्दा चार पांग्रे इभीको संख्या भने घटेको छ। यस्तै दुई पाङ्ग्रे सवारीसाधनको बजार बुम भएको छ। इन्धन बाइक र स्कुटरको आयात एकै वर्षमा करिब ५० हजार बढेको छ।

चार पाङ्ग्रे इभी ३४ अर्ब २४ करोड रुपैयाँ बराबरको १५ हजार १७१ युनिट आयात गरिएको छ। सरकारले यसबाट २१ अर्ब ६१ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ। अघिल्लो आवमा १७ हजार ३८१ युनिट इभी आयात भएका थिए।

गत वर्ष कमर्सियल भेहिकल २३ अर्ब १३ करोड रुपैयाँ बराबरको १२ हजार ९९८ युनिट आयात गरिएको छ। अघिल्लो आर्थिक वर्षमा १४ अर्ब ७३ करोड रुपैयाँ बराबरको ११ हजार २८० युनिट इन्धन कमर्सियल सवारीसाधन आयात गरिएको थियो।

इन्धन प्यासेन्जर सवारीसाधन ६ अर्ब ७६ करोड रुपैयाँ बराबरको ५ हजार ७३९ युनिट आयात भएका छन्। अघिल्लो आर्थिक वर्षमा इन्धन प्यासेन्जर सवारीसाधन ६ अर्ब ९३ करोड रुपैयाँ बराबरको ४ हजार ९८० युनिट भित्र्याइएको थियो।

तीन पाङ्ग्रे विद्युतीय र इन्धन सवारीसाधन ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको २४ हजार ६८७ युनिट आयात भएका छन्। अघिल्लो आवमा २ अर्ब ५२ करोड रुपैयाँ बराबरको २० हजार ७१७ युनिट आयात भएको थियो।

विद्युतीय दुई पाङ्ग्रे र मोपेड गत वर्ष २ अर्ब ९९ करोड रुपैयाँ बराबरको २७ हजार ७०५ युनिट आयत गरिएको छ। अघिल्लो आवमा यो संख्या १४ हजार ६८० युनिटमा सीमित थियो।  

यस्तै इन्धन दुई पाङ्ग्रे सवारीसाधनको आयात पनि बढेको छ। गत वर्ष ३३ अर्ब ७ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार ६५४ युनिट बाइक र स्कुटर आयात भएको छ। अघिल्लो आवमा यो संख्या २ लाख १ हजार ९६२ युनिट थियो।

सरकारले गत वर्ष सवारीसाधन आयातबाट ७२ अर्ब ८३ करोड रुपैयाँ राजस्व उठाएको छ।